विराटनगर- सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक संघीय ढांचामा प्रवेश गरिसकेको हुनाले प्रदेश सभासदस्यहरुलाई प्रदेशमै सपथग्रहण गराउनुपर्ने बताएका छन्।
प्रदेश र प्रादेशिक संचरनाका विषयमा विवाद बढ्दै गएपछि सरकारका प्रवक्ता समेतरहेका मन्त्री बस्नेतले सरकारले सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्नुपर्ने बताएका हुन्।
विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सूचनामन्त्री बस्नेतले राष्टिय सभा अध्यादेश, राष्टिय सभा निर्वाचनका विषयका कारण सत्ता हस्तान्तरणमा ढिलाइ भएको बताए। उनले भने, ‘प्रक्रिया पुर्याएर सरकार छाड्न हामी तयार छौँ।’
सोही क्रममा उनले मुलुकको संघीय संरचनालाई सफल बनाउन सबै राजनीतिक दलहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए। जनताको त्याग र बलिदानबाट प्राप्त संविधान कार्यान्वयन गर्नु सबै दलहरुको जिम्मेवारी रहेको उनले बताएका थिए। सोही क्रममा मन्त्री बस्नेतले संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौंमा प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउन उचित नहुने स्पस्ट पारेका थिए। सरकारले दलहरुबीच सहमति पश्चात केहीदिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने उनले बताए। प्रेस युनियन मोरंगद्वारा मंगलबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन सञ्चारमन्त्री बस्नेत विराटनगर आएका हुन्।