काठमाडौं- नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनी र दुई ब्रोकर कम्पनीका कार्यकारी प्रमुखलाई कारबाही गरेको छ।
बोर्डले सम्पत्ति शुद्धिकरण तथा धितोपत्र ऐनको उल्लंघन गरेको भन्दै कारबाही गरेको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको विज्ञप्ति अनुसार अग्रवाल, श्रीहरि र सिप्रवी सेक्युरिटिज कम्पनी कारबाहीमा परेका छन्। यस्तै अग्रवाल र श्रीहरि सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत पनि कारबाहीमा परेका हुन्।
सम्पत्ति शुद्धिकरण ऐनअनुसार अग्रवाल र श्रीहरि सेक्युरिटिजलाई १०–१० लाख तथा धितोपत्र ऐनअनुसार दुवैलाई थप ५०–५० हजार जरिवाना गरिको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा सिप्रवी सेक्युरिटिजलाई धितोपत्र ऐनअनुसार ५० हजार जरिवाना गरिएको, अग्रवाल र श्रीहरिका प्रमुख कार्यकारी अधिकृतलाई पनि ५०–५० हजार जरिवाना गरिएको उल्लेख गरिएको छ।
धितोपत्र बोर्डले प्रभावकारी नियमन गर्न नसकेको भन्दै आलोचना भइरहँदा ब्रोकरहरुलाई कारबाही गरिएको छ।
चिलिमे जलविद्युत, नेसनल हाइड्रोपावर तथा सानिमा माई हाइड्रोपावरको नक्कली सेयर खरिदबिक्रीमा संलग्न भएको प्रमाण भेटिएको भन्दै बोर्डले कारवाही गरेको जनाएको हो।
बोर्डले भनेको छ, ‘ग्राहकसँग सम्बन्ध राख्दा स्पष्ट विवरण नराखेको, सम्पत्ति शुद्धीकरण निवारण ऐन र सो अन्तर्गत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानुन बमोजिम सम्बद्ध संस्थालाई जानकारी गराउनुपर्नेमा सोअनुसार नगराइएकोले पनि कारवाही गरिएको हो।’
सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७ फ को खण्ड(ख) बमोजिम अग्रवाल र श्रीहरिलाई दस–दस लाख जरिवाना गरिएको बोर्डले जनाएको छ।
यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम तीन ब्रोकर कम्पनी र अग्रवाल तथा श्रीहरिका प्रमुख कार्यकारीलाई ५०–५० हजारका दरले जरिवाना गरिएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ।