
पोखरा- आगामी माघ ९ गतेबाट पोखरा रंगशालामा सुरु हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
साहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी पुरस्कारबारे जानकारी गराएको हो। साहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विजेता टोलीले सात लाख एक हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्।
प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि भएको हो। प्रथम पुरस्कारमा २ लाख बृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख बृद्धि गरेर ३ लाख ५१ हजार रुपैयाँ पुर्याइएको हो।
गत वर्ष प्रथम पुरस्कारको राशी ५ लाख १ हजार र द्वितीय पुरस्कारको राशी २ लाख ५१ हजार रुपैयाँ थियो।
सहारा क्लबले विगत १६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ। माघ ९ बाट २० गतेसम्म हुने प्रतियोगितामा तीन विभागीयसहित १२ टिमले प्रतिष्पर्धा गर्ने छन्। नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लबसँगै ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, थ्रीस्टारले खेल्नेछन्। मोफसलको झापा ११, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी छन् भने विदेशी टिममा उत्तर बरिन्धरा क्लब बंगलादेश र युनाइटेड सिक्किम छन्। आयोजक सहारा क्लब पनि सहभागी हुनेछ।
बंगलादेशको ए डिभिजन क्लब भएको र विदेशीका साथै राष्ट्रिय टिमका खेलाडीसमेत भएकाले बंगलादेशी टोली बलियो हुने सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।
यो पनि पढ्नुहोस्…