लन्डन– प्रशिक्षक एन्टोनियो कोन्टेले यस सिजनको अन्त्यमा इङ्लिस क्लब चेल्सी छाड्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार चेल्सीले कोन्टेको विकल्प खोज्न सुरु गरिसकेको छ। प्रशिक्षकहरु म्याक्स एलेग्री र लुइस एनरिक चेल्सीको प्रशिक्षक बन्न सक्ने प्रबल दाबेदार रहेको जनाईएको छ।
चेल्सीमा कोन्टेको सम्झौता आगामी वर्षको अन्त्यमा मात्र सकिने छ। तर टोलीको कमजोर प्रदर्शनपछि कोन्टे आफै क्लब छाड्ने तयारीमा रहेको बताइन्छ। चालु सिजन चेल्सी घरेलु लिगमा २२ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा छ।
शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २२ खेलबाट ६२ अंक जोडेको छ। चेल्सी गत संस्करणको विजेता हो।
सन् २०१६ मा चेल्सीमा आबद्ध भएका कोन्टे इटालीको दुई वर्ष र युभेन्ट्सको तीन वर्ष प्रशिक्षक बनेका थिए। ४८ वर्षिय इटालियन कोन्टेले १३ वर्ष युभेन्ट्सका लागि खेल्दा पाँच पटक घरेलु लिग र एक पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। अलेग्री हाल युभेन्ट्सका प्रशिक्षक छन्। एनरिकले भने गत वर्ष बार्सिलोना छाडेका थिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































