बर्लिन– विश्वकप फुटबलका कीर्तिमानी स्ट्राइकर मिरोस्लाभ क्लोसले कुनै समयमा आफ्नो कीर्तिमान तोडिने उल्लेख गर्दै त्यो क्षणको पखाईमा रहेको बताएका छन् । ३९ वर्षिय यी जर्मनले विश्वकपमा १६ गोल गरेका छन्।
ब्राजिलमा भएको गत विश्वकपको सेमिफाइनलमा क्लोसले घरेलु टोलीविरुद्ध गोल गर्दै विश्वकपमा सदाबहार सर्वाधिक गोलकर्ताको एकल कीर्तिमान बनाएका थिए। त्यसअघि उक्त कीर्तिमान क्लोससँगैं ब्राजिलका रोनाल्डोको नाममा संयुक्त थियो। राष्ट्रिय टोलीका लागि एक सय ३७ खेल खेल्दै उनले ७१ गोल गरेका थिए।
यसबीचमा उनले सन् २००२ देखी विश्वकप खेल्दै यस प्रतियोगिताका २४ खेलमा मैदान उत्रिए। सन् २०१४ मा जर्मनीले ब्राजिल विश्वकपको उपाधिजितेको अवसर पारेर क्लोसले अन्तर्राष्ट्रिय खेलाडी जिवनबाट पनि सन्याश लिएका थिए।
त्यसयता क्लोस जर्मन राष्ट्रिय टोलीका ‘एट्याकिङ प्रशिक्षक’ जिम्मेवारीमा छन्। रुसमा यसै वर्ष आयोजना हुने विश्वकपमा क्लोस सहभागि त हुनेछन, तर टोलीको सहायक प्रशिक्षकका रुपमा। यसै सेरोफेरोमा रहेर विश्व फुटबल महासंघ(फिफा)को अनलाइन संस्करणले आफुसँग लिएको अन्तर्बार्तामा क्लोसले भनेका छन्,‘केही राम्रा खेलाडी छन् । त्यसैले मलाई लाग्छ, कुनै समयमा मेरो कीर्तिमान तोडिने छ। अब के हुन्छ, म पर्खन्छु र हेर्छु। कसैले तोड्यो भनेर मलाई डाहा लाग्दैन र म त्यस्तो डाहा गर्ने मान्छेपनि होइन। कीर्तिमानलाई टासिरहन चाहने मान्छे पनि होइन।’
विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्ध गरेको गोल स्मरणिय रहेको बताउँदैं क्लोसले आगामी विश्वकपमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी स्वभाविक अपेक्षित स्ट्राइकर रहेको उल्लेख गरे।
फिफाले सोधेको ‘अब तपाईको व्यक्तिगत विषयमा जाउँ। तपाई विश्वकपको सदाबहादर सर्वाधिक गोलकर्ता हुन्। तपाईलाई आईकनको हैसियत महसुस हुन्छ?’ भन्ने प्रश्नमा क्लोसको जवाफ प्रसंसनिय थियो।
उनले भने,‘मलाई ब्यक्तिगतरुपमा आईकन भएको महसुस छैन। तर त्यो सफलता निश्चितरुपमा विषेष हो। विश्वकपमा १६ गोल गर्नु भनेको हरेक खेलाडीले देख्ने सपना हो। तर यसका लागि मैले आफ्नो टोलीलाई श्रेय दिनैपर्छ। किनभने मैले उनीहरुको साथबिना यो सफलता हात पार्न सक्दैन थिएँ।’ ब्राजिलियन रोनाल्डोले विश्वकपका १९ खेलमा १५ गोल गरेका थिए। विश्वकपमा जर्मनीका गर्ड मुलरले १४(१३ खेल),फ्रान्सका जस्ट फोन्टाइनले १३ (६खेल) र ब्राजिलका पेलेले १२ (१४खेल)गोल गरेका थिए। यसमा फोन्टाइनले एउटै विश्वकपमा उक्त सफलता हात पारेका थिए।
हाल विश्वकपमा छानिएका टोलीका राष्ट्रिय टोलीमा रहेको खेलाडीमध्ये सबैभन्दा बढी विश्वकप गोल कोलम्बियाका जेम्स रोड्रिगुएजले गरेका छन्। उनकोे नाममा सात गोल छ। घानाका आसोमाया ज्ञानले ६ तथा उरुग्वेका लुइस स्वारेज र अर्जेन्टिनाका लियोनल मेसीले पाँच पाँच गोल गरेका छन्।
«

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































