
धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न पटकपटक गरिएको छलफलमा सहमति जुट्न नसकेपछि अब सरकारले आफैँ तोकिदिने बताएका छन्।
शनिबार हुने सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि हुन धनगढी आएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।
‘अहिलेसम्म पटकपटक अन्य दलहरुसँग छलफल गरियो तर सहमति हुन सकेन, अब सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख आफैँ तोक्छ,’ प्रधानमन्त्रीले भने।
उनले आफू सरकारको नेतृत्व छोड्न तयार रहे पनि राष्ट्रियसभाको निर्वाचन अघि छोड्ने अवस्था नभएकाले राष्ट्रिय सभाको चुनाव गरेर मात्रै छोड्ने बताए।
३३ प्रतिशत महिलाको सहभागिताका कारणले राष्ट्रिय सभाको निर्वाचन पछि मात्रै प्रतिनिधि सभाको गठन हुने संवैधानिक ब्यवस्था भएकाले सरकार छोड्न ढिलाइ भएको प्रधानमन्त्रीको भनाइ थियो।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर तहका तीन वटा संकायका विद्यार्थी पास भइसकेकाले शनिबार महेन्द्रनगरमा दीक्षान्त समारोहको आयोजना गरिने छ। प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयका पदेन कुलपति हुने ब्यवस्था छ। प्रधनमन्त्रीसँगै शिक्षामन्त्री गोपालमान श्रेष्ठ पनि दीक्षान्त समारोहका लागि यहाँ आएका छन्।