

म्याग्दी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताएका छन्।
म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा शुक्रबार बेनीमा सुरु भएको छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नं प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापारिक मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
पूर्व प्रधानमन्त्री प्रचण्डले मुलुकमा राजनीतिक अधिकारको लडाइँ सकिएको बताउँदै अबको यात्रा मुलुकलाई विकास र आर्थिक समृद्धिमार्फत विकसित मुलुकको रुपमा चिनाउनेतर्फ अगाडि बढ्ने बताए। उनले अब बन्ने वाम गठबन्धनको सरकारले हरेक जिल्लामा रहेका सम्भावनाको पहिचान गरी ती क्षेत्रको उजागरमार्फत विकास र समृद्धिलाई नेतृत्व गर्ने बताए।
‘सरकार त वाम गठबन्धनकै बन्छ, त्यसैले हामी अहिले त्यसै बसेका छैनौँ, कुन जिल्लामा के–कस्ता क्षेत्रमा सम्भावना छन्, ती कुराका बारेमा योजना बनाउन लागिपरेका छौँ, अबको सरकारले सम्भावनायुक्त क्षेत्रको पहिचान गरी विकासलाई प्राथमिकतामा राख्छ,’ अध्यक्ष प्रचण्डले भने।
विगतको १० वर्षको राजनीतिक यात्रामा आफूले निजी क्षेत्रलाई समेत मुलुकको विकासको साझेदारीको रुपमा लिने नीतिलाई नीतिगत रुपमै कार्यान्वयन गर्न विशेष पहल गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब मुलुक निर्माणको जिम्मेवारी सरकार र निजी क्षेत्र दुवैको हुने बताए।
म्याग्दीमा जलस्रोत, पर्यटन, जडीबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै उनले यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धतासमेत जनाए।
महोत्सवको पूर्व सन्ध्यामा बेनीमा विभिन्न जातजाति र संघ संस्थाले पहिचान झल्कने झाँकीसहितको र्यालीले बजार परिक्रमा गरेका छन्। पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा खुला दोहोरीगीत, लोकनृत्य, रत्यौली गीत प्रतियोगितासहित महिला पुरुष भलिबल, बास्केटबललगायतका प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने छ।