पोखरा- र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा पत्रकार एवं लेखक यज्ञशको गैरआख्यानात्मक कृति भूइयाँबारे पोखरामा चर्चा गरिएको छ।
सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलको प्रस्तुतिमा आयोजित संवादमा लेखक यज्ञशले पुस्तकका सम्बन्धमा आएका जिज्ञासाबारे बताएका थिए।
कार्यक्रममा लेखक यज्ञशले समाजमा हेपिएका एवं विभिन्नरुपमा ठगिएका वर्ग तथा समुदायका मानिसको कथा भूइयाँ भएको बताए।
‘भूइयाँ आवाजविहीन, दुःखी र गरिबको जीवन कथामा आधारित कृति हो’, उनले भने, ‘पुस्तकमा समेटिएका सबै १० जना मुख्य पात्र महिला छन्, उनीहरूका संघर्ष र दुःखका कथा तथा व्यथालाई कृतिमा देखाइएको छ।’
कृतिका माध्यमबाट समाजका हुनेखानेको शानदार जीवन र भुइँमान्छेको संघर्षबीच ठूलो पर्खाल रहेको देखाइएको उक्त अवसरमा जानकारी गराइयो।
र्यान्डम रिडर्स सोसाइटीले विभिन्न कृतिका साथै सर्जकको उपस्थितिमा संवाद एवं छलफल गर्ने गरेको बताउँदै सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले शनिबारको संवाद ८०औँ शृङ्खला भएको जानकारी दिए। (रासस)