
लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा साविक विजेता चेल्सी घरेलु मैदानमा लेस्टर सिटीसग गोलरहित बराबरीमा रोकिएको छ। भ्रमणकारी टोली लेस्टर ६८ औं मिनेटपछि १० खेलाडीमा सिमित भएपनि चेल्सीले त्यसलाई सदुपयोग गर्न सकेन।
२३ खेलबाट ४७ अंक भएको चेल्सी तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २२ खेलबाट ६२ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४७ अंक रहेको छ। दुई सिजन अघिको विजेता लेस्टर २३ खेलबाट ३१ अंक जोडेर आठौं स्थानमा छ।
शनिबार राती भएको अर्को खेलमा टोट्टनहामले एभर्टनलाई ४–० गोलले हरायो। घरेलु मैदानमा उत्रिएको टोट्टनहामका लागि हेरि केनले दुई तथा क्रिस्टियन एरिक्सन र सन हियुङ मिनले एक एक गोल गरे। २३ खेलबाट ४४ अंक भएको टोट्टनहाम पाचौं स्थानमा छ।
समान खेलबाट केवल २७ अंक भएको एभर्टन नवौं स्थानमा छ। केन २० गोलसहित यो सिजन घरेलु लिगमा सर्वाधिक गोलकर्ताको सुचीमा शिर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका लिभरपुलका मोहम्मद सलाहले १७ गोल गरेका छन्।