
काठमाडौँ- पशुपति, देवपतनको सूर्यघाट अघोर आश्रममा डा. त्यागीनाथ अघोरीका शिष्य भष्मेश्वरनाथ अर्थात हरि बाबा बिहान सबेरै आफ्नो कुटी लिपपोत गर्दै थिए।
लिपपोत सकेर उनले पवित्र धूना चेतन गराए। अनि बागमती नदीमा स्नान गर्न ओर्लिए। स्नान सकेर उनी नियमित पूजाआजा तथा प्रातः आरतीमा व्यस्त भए। यो उनको वर्षौंदेखिको नित्यकर्म हो।
डा. त्यागीनाथ अघोर पंथका पछिल्ला धरोहर हुन् । उनी डा. रामनाथ अघोरीका शिष्य हुन्। पशुपतिको भष्मेश्वरमा उनको कुटी छ। अघोर परम्पराको हिन्दु धर्ममा आफ्नो छुट्टै पहिचान र महत्व छ। यस परम्पराले बुद्घ धर्मको बज्रयाना मार्गसँग निकै समानता पनि राख्छ।
सूर्यघाटमा तिब्बती गुरुहरु नारोपा र तिलोपाका नाममा गुफाहरु छन्। ती गुफाहरुमा उनीहरुले ध्यानसाधना गरेर सिद्दि हासिल गरेका थिए। नारोपा र तिलोपा चौरासी महासिद्दमा पर्छन्।
अघोर पंथ हिन्दु धर्मकै एक हिस्सा हो। यसका प्रवर्तक स्वयम् अघोरनाथ शिव मानिन्छन्। पश्चिमी खोजकर्ता हेनरी बालफोरका अनुसार अघोर पंथका अनुयायीहरु आफ्नो मतलाई गुरु गोरखनाथद्वारा प्रवर्तित मान्दछन्। तर यसका प्रमुख प्रचारक मोतिनाथ थिए। मोतिनाथका बारेमा भने त्यति धेरै तथ्यपरक जानकारीहरु छैनन्।
श्मशानको साधना बिना अघोर पंथ अधूरो हुन्छ। जुन समयमा हामी गहिरो निद्राको आगोशमा हराएका हुन्छौं, रातको त्यही घोर अन्धकारमा एउटा अघोरी साधक श्मशानमा गएर तन्त्र साधना गर्छ। त्यसो त मान्छेहरु अघोरीको नाम सुन्नासाथ डराउँछन्। तर, कुरो त्यसो होइन। अघोर विद्या वास्तवमा डरलाग्दो हुँदैन। केवल यसको स्वरुप डरलाग्दो हुन्छ। अघोरको अर्थ हो, जो घोर छैन। जो डरलाग्दो छैन। जो सरल छ, जसमा कुनै भेदभाव छैन। र, सरल बन्नु त्यति सजिलो काम होइन। सरल बन्न अघोरीलाई कठोर भन्दा कठोर साधनाबाट गुज्रिनु पर्ने हुन्छ।
‘तपाईं कसरी अघोर पंथतर्फ आकर्षित हुनु भयो?’
हरि बाबाले निकै नम्र लवजमा भने जो कि उनको स्वाभाव पनि हो, ‘म यो पंथको विध्यार्थी हुँ। जीवन खोज्ने क्रममा नै म यहाँसम्म आइपुगेको हुँ। म एक खोजी हुँ। साधक हुँ। फकिर हुँ। म आफैँलाई खोजिरहेको छु। र, यो क्रम मेरो जीवनपर्यन्त जारी रहने छ।’
सूर्यघाटमा हरेक आइतवार रामायण भजन हुने गर्छ। हरि बाबा यस भजनका एक प्रमुख हर्ताकर्ता हुन्। उनका अनुसार बि. सं. १९९० मा गएको बिनाशकारी भूकम्पपश्चात उस्ताद हरि श्रेष्ठ र अन्य साधुसन्तहरु मिलेर काठमाण्डौ उपत्यकामा रामायण भजनको थालनी गरेका थिए। सीतापाइलाको आदेश्वर महादेवको मन्दिरमा भूकम्पको क्षतिले अवसादग्रस्त भएका मानिसहरुलाई सांगीतिक उपचार अर्थात म्यूजिकल थेरापी मार्फत बिशेक गर्ने उद्देश्यले रामायण भजनको थालनी गरिएको थियो।
नियमित भजनमा आउनेहरुलाई भटाभट आराम मिल्न थालेपछि यस रामायण भजनको लोकप्रियता बढ्न थाल्यो। अनि यो अन्य स्थानमा बिस्तारित पनि हुन थाल्यो। र, आज यो उपत्यकामा मात्रै १ सय २० स्थानमा बिस्तारित छ। उपत्यका बाहिर पनि रामायण भजन मण्डलीहरु खुलेका छन् र खुल्ने क्रम पनि जारी छ। प्रत्येक भजन मण्डलीमा पचासदेखि दुई सयसम्म सदस्यहरु छन्।
हरि बाबाका अनुसार तुलसीकृत रामायणबाट लिइएका श्लोकहरुलाई लयबद्ध गरेर भजन गाइन्छ। हार्मोनियम, तवला, जिम्बे, झ्याली तथा शंख लगायतका वाद्यवादनका सामग्रीहरु बजाइन्छन्। रामायण भजनको अर्को प्रमुख बिशेषता भनेको यसलाई शिवको बुटी अर्थात गाँजा तानेर गाइन्छ।
‘किन त ?’
हरि बाबा भन्छन्, ‘बुटी तानेपछि भजनमा लीन भइन्छ। एकाग्रता बढ्छ। बुटी नतानी गाउँदा शूर नमिलेर हैरान हुन्छ। भजनको लय बिग्रिन्छ। भजन समापन नै पनि नहुन सक्छ। तर बुटी तानेर गाएपछि सब ठिकठाक हुन्छ।’
त्यसो त, केही वर्षअघिसम्म पशुपतिमा सरकारले नै जोगीहरुलाई प्रसादको रुपमा गाँजा बाँड्ने गर्थ्यो। तर मुलुक धर्म निरपेक्ष भएपछि यो क्रम रोकिएको छ। बुटी तान्ने जोगीहरु पशुपतिबाट लाखापाखा हुनथालेका छन्। शिवरात्रीमा पनि आजकल उस्तो जोगीहरु यहाँ आउँदैनन्। जोगीहरुले अब नेपाललाई धर्म नष्ट भएको देशको कोटीमा राख्न थालेका छन्।
हुन त पशुपतिमा गाँजा, भांग र धतुरोको भोग लाग्छ। पूजाआजाहरु यी साधनबिना अधूरा हुन्छन्। आखिर यी भगवान शिवका प्रिय वस्तुहरु पनि हुन्। शिवका अनुयायीहरुले यी वस्तुहरुलाई प्रसादका रुपमा ग्रहण पनि गर्ने गर्दछन्।
हरि बाबाका अनुसार गाँजा तानेर भजन गाउँदा यसले आस्था बढाउने पनि काम गर्छ। यसले मैत्रीभावमा पनि बढोत्तरी गराउने काम गर्छ। तर आजकल यसको ब्यापक दुरुपयोग भइरहेको छ।
उनी भन्छन्, ‘हामीले यसलाई बिशुद्घरुपमा धार्मिक र आध्यात्मिक उद्देश्यका लागि सेवन गरिरहेका छौं। अहिले देश धर्म निरपेक्ष भएपछि, राज्यले यस्ता परम्पराहरुलाई हतोत्साही गरिरहेको छ। कहिलेकाहीँ यहाँ बिनाकारण छापा पनि मार्छन्। निरपेक्ष हुँदैमा कुनै धर्मविशेषको परम्परा र पहिचानलाई किन धावा बोेल्ने ?’
त्यसो त धर्म निरपेक्ष भए पनि यसको उद्देश्य कुनै पनि धर्मलाई हस्तक्षेप नगर्नु नै हो। तर, नेपालको कानून दैव जानून्। पछिल्लो समय यहाँ हिन्दु धर्ममाथि अनेक तरिकाले अत्याधिक प्रहारहरु भइरहेका छन्।
हरि बाबा भन्छन्, ‘यस विषयमा तुरुन्तै एउटा आयोग गठन भएर छानविन हुनु जरुरी छ। नत्र यहाँ ठूलो बिद्रोह हुन सक्छ।’
उनी प्रश्न पनि गर्छन्, ‘के हामीले आफ्नै देशमा आफ्नो सम्पदा र संस्कार बचाउन देशको यस नयाँ प्रणलीसँग युद्ध नै लड्नु पर्ने हो त?’
पशुपतिनाथको मन्दिर परिसरभित्रको मुक्तिमण्डलमा हरेक सोमबार र बुधबार हुने रामायण भजनमा पनि गाँजा तानेरै सदियौंदेखि भजन गर्ने चलन छ। उता भुवनेश्वरी मन्दिरमा पनि हरेक शुक्रबार त्यसरी नै रामायण भजन हुने गर्छ। तर, आजकल पुलिस प्रशासनको भयले त्यहाँ लुकीलुकी गाँजा तान्नु पर्ने स्थिति छ। भजन मण्डलीका एक सदस्य भन्छन्, ‘पहिले जुन कामलाई पवित्र मानिन्थ्यो, आज त्यही कामलाई अपराध मानिन्छ। के देशको कानुन बदली हुँदा, हामीले सदियौंदेखिका परम्पराहरुलाई पनि बन्द गर्नुपर्ने हो? कि तिनलाई राज्यले पुर्नपरिभाषित गर्ने?’
उनका अनुसार, बेलाबेला प्रहरीले भजनमा भाँजो हाल्ने गर्छ र धरपकड पनि गर्ने गर्छ। उनी सवाल उठाउँछन्, ‘ठूलो मात्रामा गाँजा स्मग्लिङ गर्नेहरु यहाँ खुलेआम हिँड्छन्। तर, थोरै गाँजा तानेर भगवानको भजन गाउनेहरु लघारिन्छन्। के भइरहेको छ यो देशमा?’
हरि बाबा भन्छन्, ‘यसप्रकार, नेपालमा अहिले चोरलाई चौतारो र साधुलाई सूली भन्ने भनाई चरितार्थ भएको छ।’
रामायण भजनको शुरुवात नै अवशाद अर्थात डिप्रेशनको उपचारको उद्देश्यले भएको कुरा स्मरण गर्दै हरि बाबा भन्छन्, ‘डिप्रेशन मात्रै होइन, भजनमा भाग लिँदा अरु मानसिक रोग, तनाव, चिढ्चिढापन एवम् टाउको दुख्ने समस्याहरु क्रमशः दूर भएका दृष्टान्तहरु हामीसँग छन्।’
त्यसो त नेपालमा गाँजाको सदैव सदुपयोग नै भइरहेको छ भन्ने पनि होइन। केवल नशाको लागि यसलाई सेवन गर्नेहरु पनि बढिरहेका छन्। यसलाई अब राज्यले नै रिडिफाइन गर्नु पर्ने बेला आइसकेको छ।

लिलाराज खतिवडा
रामायण भजनको संबन्ध नेपालको दरबारसँग पनि थियो। नारायणहिटी हत्याकाण्ड हुनुपूर्वसम्म दरबारमा गएर रामायण भजन गाउने गरिन्थ्यो। पशुपतिको मुक्तिमण्डलका भजन मण्डलीलाई दरबारबाट आमन्त्रण हुने गर्थ्यो। बाजागाजा लिएर सदस्यहरु दरवार पुग्थे र भजन गाएर फर्किन्थे। यस भजनसँग राजा वीरेन्द्रको निकै लगाव रहेको कुरा हरि बाबा बताउँछन्।
त्यसो त ज्ञानेन्द्र राजा भएपछि उनले पनि यस भजनप्रति चासो देखाएका थिए। तर राजनीतिक घटनाक्रमहरुमा आएका उतारचढावका कारणले ब्यवधानहरु खडा भए। पछि, ज्ञानेन्द्र सत्ताच्यूत भएपछि त यो कुरै हराएर गयो।
सूर्यघाटमा हरेक दिन शिवका प्यारा जनावर भैरव अर्थात कुकुरहरुलाई खाना खुवाइन्छ। त्यहाँ एक दर्जन जति भैरवहरु नियमित खाना खान्छन्। यो अघोर आश्रम दाताहरुको सहयोगले चलिरहेको छ। यहाँ पूजाआजा गर्न विभिन्न धर्मावलम्वीहरु अनवरत आउने गर्छन्। तिब्बती लामाहरुको पनि यहाँ आएर पूजाआजा गर्ने क्रम अत्याधिक छ। तिलोपा र नारोपा गुफाहरु बौद्घ धर्मावलम्वीहरुका धरोहर नै हुन्। सूर्यघाट प्रति बिदेशीहरुको ठूलो आकर्षण रहेको कुरा पनि हरि बाबा बताउँछन्।
सूर्यघाट अघोर आश्रममा पशुपति वरिपरिका स्थानिय युवाहरुको अत्याधिक संलग्नता छ। हरि बाबाका अनुसार स्थानिय युवाहरुले नै यसलाई अहिलेसम्म बचाइरहेका छन्।
हरि बाबा भन्छन्, ‘नेपालमा अब धर्म र अध्यात्मलाई गलत नजरले हेर्न थालिएको छ। र, यसले निकट भविष्यमा नै विखन्डन र बिद्रोह निम्त्याउने खतरा बढेर गएकाले सरकारले तुरुन्तै यस विषयमा एउटा उच्चस्तरिय आयोग बनाएर छानविन गर्नु टड्कारो भइसकेको छ।’
साँझ परिसकेको थियो। हरि बाबा नियमित सन्ध्या आरतीको तयारीमा जुटे। भक्तहरु पनि भेला भइसकेका थिए। हरि बाबाले फुकेको शंखको करतल ध्वनीले वातावरण गुञ्जायमान भयो।