
धनगढी- पश्चिम नेपालका थारु बस्तीमा माघी पर्वको उल्लास सुरु भएको छ। थारु बाहुल्य जिल्ला दाङदेखि कञ्चनपुरसम्मको थारु वस्तीमा माघीको उल्लास बढेको हो।
थारु समुदायमा माघीलाई नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासका साथ मनाईन्छ।
माघी पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ भने चेलीबेटीहरु माइती घर पुगेका छन्।
माघीकै अवसरमा कैलाली कञ्चनपुरका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सवको पनि आयोजना गरिएको छ।
तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन रहेको छ। माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँड लगायतका परिकार खाने र खुवाउने गरिन्छ।
माघीको अघिल्लो दिन आज सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा जिता मरना भनिन्छ। आजको रात थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसी सखिया नृत्यमा रमाउने गरेको थारु महिला सुनदेबी चौधरीले बताईन्।
थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्छन्। यसका साथै गाउँको नेतृत्वकर्ता अर्थात बड्घर, भल्मन्सा लगायत माघ महिनामै चयन गर्ने गर्दछन्।
माघीका अवसरमा थारुवस्तीमा माघौटा, सखिया र झुमरा नाच गुन्जीन थालेपछि उल्लास झनै बढेको छ।
थारुहरुमा यो पर्व मनाउने क्रममा माघ १ गते नजिकैको नदी, तलाउ तथा पोखरीमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने प्रचलन रहिआएको छ।
मकर संक्रान्तिका दिन नुहाउँनाले वर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ।