
अ
+
अ
अ
-
विर्तामोड- माघ ७ गते हुने झापा स्पोर्टस् अवार्डका लागि खेलाडी मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले जानकारी दिएको छ।
मञ्चले विभिन्न पाँच विधाको अवार्डका लागि तीनवटा टिम र विभिन्न खेलका १२ जना खेलाडीलाई मनोनयन गरेको हो। प्रत्येक विधामा ३ जनाका दरले १२ जना र तीनवटा खेलकुद टिमलाई मनोनयन गरिएको छनोट समितिका संयोजक पर्वत पोर्तेलले जानकारी दिए।
मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट खेलाडी युवा, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस् विधामा अवार्ड वितरण गर्न लागेको हो। पोर्तेलका अनुसार वर्ष उत्कृष्ट खेलाडी (पुरुष)का लागि विशाल राई ‘बी’ (फुटबल), भूपेन्द्र निरौला (बुद्धिचाल) र योगेश गुरुङ (फुटबल) मनोनयनमा परेका छन्।
वर्ष उत्कृष्ट खेलाडी (महिला)का लागि रुविना क्षेत्री (क्रिकेट), एस्तर राई (कराँते) र सुलप मगर (बक्सिङ) मनोनयनमा परेका छन्।
युवा वर्ष खेलाडीका लागि देवेन्द्र तामाङ (फुटबल), सवनम राई (क्रिकेट) र पुजन उपरकोटी (फुटबल) मनोनयनमा परेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा संजय राई (फुटबल), मनोज कट्वाल (क्रिकेट) र सीता राई (कराँते) मनोनयनमा परेका छन्।
पिपुल्स् च्वाइज् अवार्डका लागि भने झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब मनोनयनमा परेका छन्। मनोनयनमा परेका तीन मध्येबाट उत्कृष्ट एक जनालाई कार्यक्रममा अवार्ड प्रदान गरिनेछ। पिपुल्स च्वाइस अवार्ड भने दर्शकको मतका आधारमा उत्कृष्ट छनोट गरिनेछ। उत्कृष्टलाई नगद १५ हजार सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।