पोखरा- पोखरामा जारी साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्स र भुटानका खेलाडी टिम नक्कली भएको सार्वजनिक भएको छ। भुटान र माल्दिभ्सले १२ औँ दक्षिण एसियाली सेभेन ए साइडमा फुटबल प्रतियोगितामा आफ्नो राष्ट्रिय टिमको सहभागिता भन्ने विषयमाथि प्रश्न उठाएको छ।
भुटान फुटबल संघ र माल्दिभ्स फुटबल एसोसिएसनले भुटान सेभेन ए साइड फेडेरेसन र माल्दिभ्स सेभेन ए साइड फेडेरेसन नामका कुनै संस्था नभएको जनाएका छन्। साथै दुबै देशको फुटबल एसोसिएसनले आफ्नो देशमा कुनै पनि सेभेन ए साइड फुटबल एसोसिएसन नभएको भन्दै नक्कली खेलाडी सहभागिता भएको जनाएको छ।
भुटान फुटबल एसोसिएसनका पदाधिकारी सोनम जट्टुले भने, ‘भुटानमा सेभेन ए साइडको कुनै राष्ट्रिय टिम छैन अहिले खेलिरहेका खेलाडीप्रति हामी अनभिज्ञ छौं,’ उनले प्रतियोगितामा भाग लिएको विषयप्रति गम्भीर आपत्ति पनि जनाएका छन्। त्यस्तै माल्दिभ्स फुटबल एसोसिएसनका सचिवालयले अहिले प्रतियोगितामा भाग लिएको टिमको आफूसँग कुनै सम्बन्ध नरहेको र माल्दिभ्समा राष्ट्रिय सेभेन ए साइड टिम या संघ पनि नरहेको स्पष्ट पारेका छन्।
साउथ एसोसिएसन सेभेन ए साइड फेडेरेसनद्वारा आयोजित उक्त खेलको संयोजन नेपालका सेभन ए साइड फुटबल फेडेरेसनले गरेको हो। संघका अध्यक्ष नवीन पुनले आफूहरुले प्रतियोगिताको संयोजन र व्यस्थापन गरेको यसको वैधानिकताबारे थाहा नभएको बताए। उनले भने, ‘सम्बन्धित देशका खेलाडी को हुन् होइनन् यसबारे केही भन्न सक्दैँनौँ।’
नेपाल सेभेन ए साइड संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको छ तर प्रतियोगिता सम्बन्धी कुनै जानकारी राखेपले पाएको छैन। त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि खेलकुद मन्त्रालयबाट लिनुपर्ने अनिवार्य नो अब्जेक्सन लेटरसमेत नलिइएको पाइएको छ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आयोजकले प्रतियोगिता सञ्चालनका लागि राखेपबाट कुनै अनुमति समेत नलिएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको खेलमा नक्कली खेलाडीको सहभागिताले राष्ट्रको नै बदनाम गर्न भन्दै यस विषयमा बुझ्ने बताए।
त्यस्तै खेलकुद मन्त्रालयका प्रवक्ता राम थपलियाले पनि पोखरामा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भइरहेकोबारे अनभिज्ञ रहेको जनाए।
उनले भने, ‘हामीलाई यस विषयमा कुनै जानकारी छैन। यस सम्बन्धमा राखेप र एन्फालाई सोध्नपर्छ। यो विषयमा अनुसन्धान गर्नु राखेपको जिम्मेवारी हो र २६ बुँदे निर्देशनअनुसार राखेपले यसको नियन्त्रण गर्नुपर्छ। यदि आवश्यक परेमा खेलकुद मन्त्रालयले हस्तक्षेप गर्नेछ।’
सेभेन ए साइड फुटबल एन्फाले निगरानी नराख्ने हुँदा यस सम्बन्धमा एन्फा पनि जिम्मेवार देखिँदैन।
स्रोतका अनुसार भुटान, माल्दिभ्स लगायतका टिममा भारतका स्थानीय खेलाडी संलग्न छन्। अखिल नेपाल फुटबल संघ कास्कीका पूर्व सचिव सुर्दशन रञ्जितले यो घटनाले नेपालको खेलकुद परिषद् र खेलकुद मन्त्रालयबीचको समन्वय नभएको भन्ने स्पष्ट पारेको बताए। उनले भने, यो गम्भीर विषय हो, यसले आगामी दिनमा हुने अन्तर्राष्टिय प्रतियोगितामा समेत असर पार्छ।’
यस बारेमा नेपालको खेलकुद मन्त्रालयले अनुसन्धान गरेर कारबाहीका लागि प्रक्रिया थाल्नु पर्ने बताए।
प्रतियोगितामा नेपाल, भुटान, माल्दिभ्स, पाकिस्तान, भारत र बंगलादेश गरी ६ टीम छन्। प्रतियोगिताको पहिलो दिन नेपालले भुटानमाथि ४-० को र बङ्लादेशले माल्दिभ्समाथि १६–० को भारी अन्तरको जीत हासिल गरेका थियो।