भ्यानकोभर- उत्तर कोरियालाई दबाब दिने उद्देश्यले आयोजना गरिएको बैठकमा चीन अनुपस्थित हुने भएको छ।उत्तरलाई दबाब दिन मंगलबार क्यानडामा २० देशका विदेशमन्त्रीको बैठक बस्दै छ।
उनीहरूले उत्तर कोरियालाई रणनीतिक एवं आर्थिक दबाव दिन छलफल गर्ने बताइएको छ। उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई कसरी नियन्त्रण गर्ने भन्न्ने उनीहरूको उद्देश्य हो।
उक्त बैठक अमेरिका र क्यानडाले आयोजना गरेका हुन्। ती दुई देशले कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्ने उद्देश्यले बैठक बोलाएको दाबी गरेका छन्। उत्तर कोरियाको सबैभन्दा निकट मित्र र सहयोगी चीन उक्त बैठकमा सहभागी नहुने भएपछि बैठकको सफलताबारे आशंका गरिएको छ।
गत साता दुई वर्षपछि दुई कोरियाबीच बैठक भएको थियो। फेब्रुअरीमा आयोजना हुने शीतकालीन ओलम्पिकमा खेलाडी पठाउन उत्तर सहमत भएको थियो। अमेरिकी योजना मन्त्रालयका निर्देशक ब्रियान हुकले भने, ‘हामीले दिएको दबाबले काम गरेको छ।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘कोरियाली प्रायद्वीप परमाणु मुद्दामा यस्तो बैठक आयोजना गर्नुको कुनै औचित्य छैन। बैठकमा महत्वपूर्ण पक्ष नै सहभागी छैनन्। अतः यसबाट समस्याको समाधान हुनेछैन।’
अमेरिकी अधिकारी हुकले भने बैठकले गरेको निर्णय बैठकमा सहभागी नहुने चीन र रूसलाई जानकारी गराइने बताए। उक्त बैठकमा चीनको अनुपस्थितिलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले गैरकानुनी रूपले उत्तर कोरियालाई सहयोग गर्दै आएको आरोप लगाएका थिए। चीनले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।