
दाङ– गढवा गाउँपालिका वडा नं. २ कोठरी निवासी ७० वर्षीय रामहिरत यादव भैंसी चराउन राप्तीवारि सिसहनियाँ आए।
घुँडाघुँडाको पानी तरेर भैंसी चराउन नदीवारि आएका यादवलाई पुलबाट ओहोरदोहोर गर्ने इच्छा छ। ‘वर्षामा निकै दुःख भोग्दै आएका छौं, राप्ती नदीमा आउने भेलले पूरै ढाक्छ, आउन जान समस्या पर्छ, अब पुल बन्दै छ, यसैबाट आउन जान मन छ,’ यादवले भने, ‘पुल बन्दै गरेको देखेको छु, पाँच वर्षभित्र सम्पन्न हुन्छ भनेर सुनेको छु। यहाँ काम भएको हिसाबले तीन वर्षमै सकिन्छ जस्तो छ, सबैले यही भन्छन्।’
महदेवा निवासी छुक्न चौधरी पुल बनाउने मजदुरकै रुपमा कार्यरत छन्। आफ्नो गाउँ जोड्नेगरी राप्तीमा पुल बनिरहेको र त्यही पुल बनाउने काममा सहभागी हुन पाउँदा खुसी छन्। ‘स्थानीयलाई पनि रोजगारी मिलेको छ, दैनिक ४ सय रुपैयाँ पाउछौं’, उनले भने, ‘बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म काम हुन्छ।’
दाङस्थित सिसहनियाँदेखि महदेवा जोड्ने राप्ती नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ।
यो पुल नेपालमै दोस्रो लामो पुलको रुपमा परिचित छ। यो पुलको लम्बाइ ८ सय ६५ मिटर हुनेछ। एक वर्षभित्र सम्पन्न भएको कामको मूल्यांकन गर्ने हो भने धेरै काम सम्पन्न भएको छ। अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ। आउँदो वैशाखसम्म ६० प्रतिशत काम सकिने अपेक्षा राखिएको छ।
पाँच वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको पुल निर्माणको कामले अहिले गति लिएको हो। १७ वटा पिल्लरमा अडिने पुलको उत्तरतर्फ ढलाइको काम सुरु भइसकेको छ। गाडी हिँड्न माथिल्लो भागमा गरिने ढलाइको काम सुरु भइसकेको हो।
‘स्वफिट ढलाइको काम तीव्र छ, हामीले गाडी गुड्ने भागको ढलाइको तयारी गरिरहेका छौं,’ अनक कन्ट्रक्सनका साइट इञ्चार्ज लक्ष्मण ढकालले भने, ‘आउँदो बैशाखसम्म बाँकी ६ वटा पिल्लरको काम सक्छौं, ६ वटा स्लाइब ढलाइको काम सक्छौं भन्ने योजनासाथ अघि बढेका छौं।’
पुलले राप्ती गाउँपालिका वडा नं. ७ देखि गढवा गाउँपालिका वडा नं. २ को महदेवा जोड्ने छ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले यो पुलको शिलान्यास गरेका थिए। यही कम्पनीले कोठियाघाटको नेपालकै लामो पुल निर्माण गरेको हो। यो पुल बनाउन ८२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
राप्ती नदीकै सतवरीयाको जहरे घाटमा पनि पक्की पुल निर्माण भैरहेको छ। यहाँ ६ वटा पिल्लरमा पुल अडिने छ। यहाँ पनि उत्तरतर्फबाट काम सुरु भएको छ। ‘माघबाट जहरे घाटमा पनि पुलको गाडी हिँड्ने भागको ढलाइको तयारी हुन्छ,’ निर्माण कन्ट्रक्सनका इञ्निनियर सुदीप बस्नेतले भने, ‘कुनै समस्या नआए निर्धारित समयभन्दा अघि काम सक्छौं।’