मेलबर्न– रोजर फेडेरर ३६ वर्षका भए। तर टेनिस कोटमा उनको ‘युवा स्फुर्ती’ अझै कम भएको छैन। उदाहरण जिवन्त छ, गत वर्षका सबै चार एकल ग्रान्डस्लाममध्ये दुई वटा यी स्विस स्टारले जिते।
मेलबर्नमा सोमबारदेखी सुरु भएको वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा पनि फेडेरर निर्विवाद उपाधि दाबेदार हुन्। फेडेरर यस प्रतियोगिताका साविक विजेता हुन्। राफेल नाडाललाई फाइनलमा पराजित गर्दै फेडेररले गत अस्ट्रेलियन ओपन जितेका थिए।
फेडेररले यो प्रतियोगिता हालसम्म पाँच पटक जितेका छन्। अब एक पटक विजेता बन्न सके अस्ट्रेलियन ओपन सर्वाधिक जित्ने पुरुष खेलाडीका रुपमा सर्बियन नोभाक जोकोभिच र रोय इमर्सनले बनाएको कीर्तिमान बराबरी गर्नेछन्। दुवैले ६/६ पटक यो प्रतियोगिता जितेका छन्।
फेडेरर ग्रान्डस्लाम टेनिसको इतिहासमा सर्वाधिक एकल उपाधि जित्ने पुरुष खेलाडी हुन्। उनले हालसम्म १९ पटक एकल ग्रान्डस्लाम उपाधि जितेका छन्। उनको नाममा अस्ट्रेलियन ओपनबाहेक फ्रेन्च ओपन एक पटक, आठ पटक विम्बल्डन र पाँच पटक युएस ओपन जितेको इतिहास छ।
उनीभन्दा पछाडि रहेका स्पेनिस राफेल नाडालले १६ पटक जितेका छन्। पिट साम्प्रासले १४ तथा नोभाक जोकोभिच र रोय इमर्सनले १२/१२ पटक जितेका छन्। यीमध्ये नाडाल र जोकोभिच मात्र हाल खेलिरहेका छन्। नाडाल ३१ र जोकोभिच ३० वर्षका भए।
यसै कारण पनि फेडेररलाई ग्रान्डस्लाम उपाधिको संख्या बढाएर आफ्नो कीर्तिमान तोड्न सजिलै नदिने अवसर छ। पुरुष एकलतर्फ सबैभन्दा बढी उमेरमा अस्ट्रेलियन ओपन जित्ने खेलाडी फेडेरर भने होइनन्। केन रोजवालले ३७ वर्ष आठ महिनाको उमेरमा सन् १९७२ मा यो प्रतियोगिताको उपाधि जितेका थिए।
जारी अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा सुरु गर्नुअघि फेडेरर विश्व वरियताक्रममा दोस्रो स्थानमा छन्। शीर्षस्थानमा स्पेनका नाडाल छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































