
काठमाडौं- प्रदेश ४ को मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङको प्रदेशसभा सदस्यता सपथ लिएसँगै समाप्त हुने भएको छ।
सर्वोच्च अदालतको न्यायाधीशद्वय दीपक जोशी र पुरुषोत्तम भण्डारीको इजलासले मंगलबार कर्तव्य ज्यान मुद्दामा २०६९ साल साउन २८ गते पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै सुनाएको ५ बर्ष कैद सजायलाई सदर गरेपछि मनाङेको सदस्यता संकटमा परेको हो।
कर्तव्य ज्यान मुद्दामा पाटन पुनरावेदन अदालतबाट रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाले सफाइ पाएपछि सरकारले २०७० जेठमा सर्वोच्च अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दर्ता गरेको थियो। सर्वोच्चले पाटन पुनरावेदनकै फैसला सदर गरेपछि उनीहरु चार जनालाई यस मुद्दामा सफाइ मिलेको छ। तर, पाटन पुनरावेदनले दोषी ठहर्याएका मनाङेले भने पाँच वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ।
२०६१ सालमा चक्रे मिलन र दीपक मनाङे समूहबीच खुकुरी हानाहान भएपछि प्रहरीले मनाङे समूहलाई कर्तव्य ज्यान मुद्दा लगाएको थियो।
एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका मनाङे सर्वोच्चको फैसला पछि संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका छन्। यसअनुसार उनको प्रदेश सभा सदस्यता खारेज हुने छ।