फोहोरमा ‘फोहोरी खेल’

फोहोरमा ‘फोहोरी खेल’
+
-

नेपालगञ्ज– नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रले नेपालगञ्ज बजारबाट दैनिक ६ टन बढी फोहोर उठाउँछ। होटल र अस्पतालहरुबाट निस्किने फोहोर उठाउने केन्द्रका अधिकारीलाई सधैं आज फोहोर कहाँ फाल्ने भन्ने तनाव हुने गर्दछ।

केन्द्रले लामो समयसम्म नगरपालिकासँगै फोहोर फाल्दै आएको थियो। निजी कम्पनीहरुबाट निस्किने फोहोर बढी दुर्गन्धित हुने बताएर ‘जानकार’हरुले नै जग्गा धनी र आसपासका मानिसलाई भड्काएपछि केही महिनादेखि नगरपालिका र निजी संस्थाले छुट्टाछुट्टै ठाउँमा फोहोर फाल्दै आएका छन्।

नगरपालिकाबाट छुटिएपछि ढोडेगाउँमा फोहोर फालेको संस्थाले त्यहाँ भरिएपछि केही दिनदेखि बुलबुलियामा फोहोर फालेको छ।

बुलबुलियास्थित मोहम्मदी सिद्धिकीको जग्गामा दुई घण्टा डोजर लगाएर फोहोर फाल्ने ठाउँ बनाइएको थियो। बुधबारसम्ममा त्यहाँ पनि भरिएको छ।

‘२३ सयका दरले दुई घण्टा डोजर लगाएर फोहोर फाल्ने ठाउँ बनाए, ४७ सय खर्च हुँदा फोहोर भने सात दिन पनि राम्ररी फाल्न पाइएन,’ संस्थाका सञ्चालक भानु भट्टले भने, ‘आजसम्म त फोहोर फालियो, भोलीदेखि कहाँ फाल्ने हो, तनावमा छु। यस्तै भइरहे त काम गर्न सकिदैँन।’

नेपालगञ्ज उपमहानगरपालिकाले अहिले बुलबुलियाको मस्जिद नजिक खाल्टोमा फोहोर फालिरहेको छ। त्यहाँ पनि भरिन थालेको छ।

त्यसपछि कहाँ फाल्ने सरसफाइ शाखाका प्रमुख अशोक केसी चिन्तित छन्। बुलबुलियामा डेढ विगाहको खाल्टो जमिन भेटिएको छ।

जग्गाधनीले तारबार गरेर फोहोर फाल्न भनेका छन्। तारबार गर्न ५/६ लाख लाग्छ। त्यतिका पैसा कहाँबाट निकाल्ने नगरपालिकाले सोचिरहेको छ।

जग्गाधनीले फोहोर फाल्न दिएपनि आसपासका मानिसको चर्को विरोधले धेरै ठाउँमा फोहोर फाल्न पाइएको छैन। स्थानीयको माग अनुसार नै अहिले फोहोरलाई त्रिपालले छोपेर लगिन्छ। ल्याण्डफिल्ड साइट निर्माणमा विगतका कर्मचारीकै लापरबाहीले ढिलासुस्ती हुँदा फोहोर व्यवस्थापन दैनिकको समस्या भइरहेको छ।

नेपालगञ्जमा त्यसो त दैनिक निस्किने फोहोर उही दिन व्यवस्थापन हुन सक्दैन। ३३ टन दैनिक फोहोर निस्किदा नगरपालिका र निजीले मिलेर २२÷२३ टन फोहोर उही दिन व्यवस्थापन गर्ने गर्दछन्।

मेयर डा. धवल शमशेर राणाले आफ्नै ल्याण्डफिल्ड साइट नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।  ‘म आएपछि नै एक दर्जन ठाउँमा फोहोर फाल्ने व्यवस्था मिलाइसकेँ,’ मेयर राणाले भने।

वडावडाले ट्याक्टर किनेर आफैँ फोहोर व्यवस्थापन गर्ने बताए पनि त्यो सेलाएको छ। नगरपालिकाले अहिले टोलटोलमा डस्टबिन बाँडिरहेको छ। स्थानीयले भने डस्टबिनमा फोहोर फालेको पाइँदैन।

कर्मचारी मिलोमतो
नेपालगञ्ज उपमहानगरपालिकाले २०६८ सालदेखि नै शुरु गरेर विभिन्न मितिमा साविकको हिरमिनिया–७, तेलियनपुरुवामा १२ विगाह जग्गा खरिद गरेको छ। ३३ करोडमा ठेक्का भइसकेको ल्याण्डफिल्ड साइट भने विविध कारणले अघि बढ्न सकेको छैन।

१२ विगाह जमिनको बीचमा १९ कठ्ठा जग्गा अर्कैको परेको छ। बीचको अर्कै व्यक्तिको जग्गालाई राखेर ल्याण्डफिल्ड साइट निर्माण थालिदा कुरा अख्तियारसम्म पुगेको छ। त्यसो त, १२ विगाह जमिन पनि चलनचल्तीको भन्दा बढी मूल्यमा किनेको प्रतिवेदनहरु बाहिर आएका छन्। अख्तियारले छानबिन गरिरहेको छ।

सधैं फोहोर फाल्ने टेन्सन रहने अनि ल्याण्डफिल्ड साइटका बारेमा के भइरहेको छ भनेर निर्वाचित वडाध्यक्षहरुले होहल्ला गर्न थालेपछि वडा नं. १८ का वडाध्यक्ष दीपक बर्माको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सुरेन्द्र गुप्ता बैश्य, बुद्धिसागर सुवेदी, अजयकुमार पाठक र मो. हुसैन शेष सदस्य रहेको समितिले चार महिनापछि प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा चलनचल्तीभन्दा बढी मूल्यमा जग्गा किनेको, बीचमा अर्कैको जग्गा भएको जानकारी हुँदाहुँदै त्यसलाई व्यवस्थापन नगरेकोलगायतको टिप्पणी गरेको छ।

समितिका संयोजक बर्माले जग्गाको धेरै मूल्य नै भएको ठाउँमा प्रतिकठ्ठा ८५ हजारमा खरिद गरिएको र बीचमा अर्कैको जग्गा रहेको थाहा पाएर पनि प्राविधिकले काम अगाडि बढाउनु गलत भएको बताए।

कर्मचारीहरुकै मिलोमतोमा बीचमा परेको १९ कठ्ठा जग्गा रातारात किनेर अड्को थापिएको छ। मेयर राणाले त्यो जग्गा नकिनी सुख्खै नरहेकाले किन्ने प्रक्रिया अघि बढाएको बताए। ‘हामीलाई जसरी पनि ल्याण्डफिल्ड साइट बनाउनु छ। वर्षाअघि नै सक्नुपर्छ। त्यसअघि त्यो बीचको अर्कैको जग्गा किन्न लागि परेका छौं,’ मेयर राणाले भने।

नगरपालिकाले किनेको १२ विगाहको बीचमा १९ कठ्ठा छुटेको थाहा पाएपछि महंगोमा बेच्न पाइने भन्दै स्थानीयसँग सिद्धान्त राणा र अनकलिया थारुले किनेका छन्। अहिले उनीहरुसँग नगरपालिकाले त्यो जग्गा किन्न खोजिरहेको छ। नगरपालिकाका कर्मचारीहरुकै संलग्नतामा यी सबै गतिविधि भएको स्रोतले बतायो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?