
विराटनगर- सरकारले प्रदेश नम्बर १ को प्रमुखमा प्रा. डा. गोविन्द सुब्बा (तुम्बाहाम्फे) लाई नियुक्त गरेको छ।
धनकुटा जिल्लाको ६ थरे बन्चरे गाउँ हालको जोरपाटी गाउँपालिकामा २०१४ सालमा जन्मिएका प्रो.डा.सुब्बा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासमा कार्यरत छन्।
इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापन गराउनेक्रममा बामपन्थी धारसँग नजिक रहेका सुब्बा २०४६ सालको प्रजातन्त्रपछि काँग्रेसतर्फ नजिकिएको उनी निकटस्थहरु बताउँछन्।
उक्त समय सम्पन्न पहिलो स्थानीयतहको निर्वाचनमा काँग्रेसबाट धरान मेयर पदमा उम्मेद्वारी दिएका सुब्बा एमालेका ध्यानबहादुर राईसँग करिब २ सय ४० मतले पराजित भएका थिए।
यस हारपछि सुब्बा सक्रिय राजनीतिमा कम देखा परे। धरान वडा नम्बर १२ चतरालाइनमा बसोबास गर्दै अँएका सुब्बाले धनकुटाको ६ थरेमा बसोबास गर्दै आएका लिम्बू जातिको भाषा ब्याकरणमा २०६४ सालमा पिएचडी गरेका हुन्।
सुब्बाले पूर्वाञ्चल विश्वविद्यालयमा सहायक डीनका रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्। सुब्बाका श्रीमती, दुइ छोरा र एक छोरी छिन्।