
धनगढी- अस्थायी राजधानी धनगढी तोकेको विरोधमा दिपायलका आन्दोलनकारीहरुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डाक्टर आरजु राणा देउवाको शवयात्रा निकालेका छन्।
बुधवारदेखिको आमहड्ताल जारी राखेका आन्दोलनकारीहरुले बिहीबार बिहान प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजुको शवयात्रा निकाल्दै बिरोध प्रदर्शन गरेका हुन्।
गाँउगाँउबाट बिरोध प्रदर्शनका लागि दिपायल आएका उनीहरुले कात्रोसहित शंख फुकेर शवयात्रा निकालेका थिए।
आन्दोलनकारीहरुले बनाएको शवमा नेपाली कांग्रेसको झण्डा ओढाइएको थियो।
प्रधानमन्त्री देउवाले पत्नी मोहका कारण अस्थायी मुकाम धनगढी तोकेको उनीहरुको आरोप छ। प्रधानमन्त्री पत्नी डाक्टर राणाले प्रदेशको राजधानी आफूले चुनाव लडेको क्षेत्र धनगढीमा हुनुपर्ने अभिव्यक्ति दिँदै आएकी थिइन्।
यस्तै अस्थायी मुकाम धनगढी तोकेपछि आक्रोशित भएका आन्दोलनकारीहरुले दिपायलका केही पसलहरुमा तोडफोड गरेका छन्।
आक्रोशित भिडले बजारका केही पसलमा तोडफोड गरेपछि दिपायल तनावग्रस्त बनेको छ। आन्दोलनकारीहरुको आक्रोश बढ्दै गएकाले आन्दोलन नियन्त्रणमा लिन कठिन भइरहेको आन्दोलनकारीका अगुवा दिपक खड्काले बताए।
यस्तै डोटीमा राजधानी घोषणा नगरेपछि रिसाएका आन्दोलनकारीहरुले नेपाली कांग्रेस डोटीको कार्यालयमा कालो झण्डा टाँगेका छन्।
कांग्रेसकै कार्यकर्ताहरुले कार्यालयबाट पार्टीको चारतारे झण्डा हटाएर कालोझण्डा टाँगेका हुन्।

दिपायल राजधानी बनाउन माग गर्दै गरिएको विरोध र्याली। तस्बिर: देशसञ्चार
सम्बन्धित समाचारहरु…