लेटाङ- मोरङ जिल्ला फुटबल संघको अध्यक्ष पदमा तेस्रोपल्ट दीपेन्द्र धिमाल निर्वाचित भएका छन्।
लेटाङमा विहीबार सम्पन्न संघको सातौं अधिवेशनका क्रममा धिमाल ८ मतका साथ विजयी भएका हुन्।
यस जितसँगै धिमालको यो तेस्रो कार्यकाल हुन पुगेको छ। उनका प्रतिद्धन्दी किरण गिरीले ६ मत हात पारे। मोरङ जिल्लामा कुल १४ वटा क्लबबाट निर्वाचन भएको हो।
जित हात पारेका धिमालले विगतमा भएका कमीकमजोरीलाई सच्याउने बताए। उनले भने, ‘विगतमा भएका घटनाक्रमलाई बिर्सनेछु। अब मोरङको फुटबल नयाँ शिराबाट अघि बढ्छ।’ महासचिव र कोषाध्यक्ष पद कार्यसमितिको बैठकले टुंगो लगाउने नवनिर्वाचित अध्यक्ष धिमालले जानकारी दिए। उनले यस निर्वाचनले फुटबललाई थप एक ढिक्का बनाउन सहयोग गर्ने र सबै साथीभाइलाई समेटेर अघि बढ्ने बताए।
२०५२ सालमा स्थापित संघमा पहिलोपटक निर्वाचन भएको हो। यसअघि सहमतिमा पदाधिकारी निर्वाचित हुँदै आएको थियो।
यसैबीच पूर्व प्रशिक्षक एवं मोरङ जिल्लाका फुटबल गुरु शिवभक्त जोशीले भने फुटबलको विकासमा सबै एक भएर लाग्न आव्हान गरे। उनले खेलसँगै खेलसामाग्रीहरुमा नयाँ टोलीले ध्यान दिने र जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए।
यसैगरि, तीन उपाध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो। दीपेन्द्र तिवारीले ८, माधव राजभण्डारी विमल ९ र धनकुमार लामा ८ मतसहित विजयी भएका छन्। त्यसैगरी महिला सदस्यमा कौशिला लिम्बू निर्विरोध निर्वाचित भएकी छिन्। त्यसैगरी सदस्यमा ओमप्रकाश मास्के, उद्धवकुमार भुजेल, इन्द्रमणि पोखरेल, प्रेमप्रसाद तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बु र तेजराज गिरी निर्विरोध निर्वाचित भएका छन्।
यसअघि जिल्लामा पूर्वप्रशिक्षक एवं अखिल नेपाल फुटबल संघका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँले दुई कार्यकाल अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका छन् भने प्रदीप भगत, र किशोर तिम्सिनाले समान एकपटक अध्यक्ष भइसकेका छन् ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































