
विराटनगर- प्रदेश नम्बर एकको राजधानीको मागसहित आन्दोलनरत धनकुटाको जनजीवन शुक्रबार बिहानैबाट प्रभावित भएको छ।
आन्दोलनका कारण विगत महिना दिनबाट प्रभावित धनकुटाको वातावरण अझै पनि शान्त बन्न सकेको छैन।
यद्धपि स्थिति नियन्त्रणमा लिन हिजोबाट जारी गरिएको निशेधाज्ञा अझै पनि जारी रहेको धनकुटा जिल्ला प्रमुख प्रेमप्रकाश उप्रेतीले बताए। ‘उनले कर्फ्यू र निशेधाज्ञा बिल्कुल फरक कुरा हुन्, धनकुटामा विहीबारबाट बढेको अवान्छनीय गतिविधि कम गराउन प्रशासनले निशेधाज्ञा लगाएको छ,’ उनले भने।
अत्यावश्यक बस्तु औषधी, अस्पताल परिषरको औषधी पसलसमेत बन्द रहेको सन्दर्भमा प्रमुख उप्रेतीले भने, ‘औषधी जस्तो संवेदनशील कुरामा प्रशासनले बन्द गराउने प्रहरीले बन्द गराउने भन्ने कुरा छैन, त्यहा आन्दोलनकारीले नै बन्द गराएका छन्।’
धनकुटाको अवस्था सामान्य नहुन्जेल निशेधाज्ञा जारी रहनेमा उनी ढृढ छन्। यसबीच बिहानबाट धनकुटा बजार क्षेत्रमा सुरक्षा निकायको अवस्था बाक्लो बनाइएको छ।
अर्कोतर्फ, धनकुटामा आन्दोरनपक्षका अगुवाइ सुन्दरबाबु श्रेष्ठले भने यति लामोसमयदेखि हड्ताल, आमहड्ताल हुँदापनि प्रशासनले निकास निकाल्न पहल नगरेको गुनासो गरे। उनले भने, ‘प्रशासनले समस्या बढाइरहेको छ। हामी निकास चाहन्छौँ। आजसम्म वार्ताको पहल हुन्छ भन्ने कुरामा केन्द्रित छौँ।’
धनकुटाका आन्दोलनरत पक्षले प्रशासनले वार्ताको पहल नगरे भोलिबाट जारी निशेधाज्ञासमेत तोड्न बाध्य हुने जनाएको छ।
हाल धनकुटा बजार र ३, ४, ५, ६, ७, र ८ वडा नम्बरमा निशेधाज्ञा छ। त्यसैगरी देब्रेबासदेखि पात्ले खोलासम्म निशेधाज्ञा जारी रहेको अन्दोलनरत पक्षका अगुवा श्रेष्ठ बताउँछन्। हाल बजार, पसल, यातायात समेत ठप्प रहेको आन्दोलन पक्षले जनाएको छ।
धनकुटाको अस्मिता र अधिकारका लागि आफूहरुको लडाइँ जारी रहने बताएका श्रेष्ठले विहीवार भएको प्रहरी दमनमा सात जना घाइते भएको बताए।
प्रशासनले भने स्थिति नियन्त्रणमा नआउन्जेल सामूहिक रुपमा भेला नहुन आव्हान गरेको छ। प्रशासनले गए राति धनकुटा भएर धरान झर्ने र पहाडतर्फ जाने यातायातलाई स्कर्टिङ गराउदै पठाएको जनाएको छ।
सरकारले विराटनगरलाई अस्थायी राजधानीे तोकेपछि धनकुटामा राजधानीको मागसहित जारी आम हड्तालले अझ उग्ररुप लिँदै गएको छ।