
काठमाडौँ- बलिवुड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनका साथ प्रभु देवा, सोनाक्षी सिन्हा, कृति सेनन, मिट ब्रदर्स, डेजी शाह, मनिष पलसहितका कलाकारले फागुन २६ गते काठमाडौँको टुँडिखेलमा प्रस्तुति दिने भएका हुन्।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सलमानका भाइ शोहेल खानले सलमान नेपाल आउने जानकारी गराए।
ओडिसी इन्टरटेन्मेन्टले शोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्ट्ससँग सहकार्य गर्दै टुँडिखेलमा कार्यक्रम आयोजना गर्न लागेको हो।
ओडिसी इन्टरटेन्मेन्टका सिमान्त गुरुङका अनुसार दर्शकले २ हजारदेखि १० हजार रुपैयाँसम्मका टिकट आउँदो माघ १८ गतेबाट बुकिङ गर्न सक्ने छन्।
उनका अनुसार नेपाली र भारतीय कलाकारले करिब साढे तीन घण्टा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन्।
नेपालका कलाकारबारे अन्तिम टुंगो केही दिनमा लाग्ने गुरुङले जानकारी दिए।
पत्रकार सम्मेलनमा शोहेल खानले सामाजिक र सांकृतिक रुपमा धेरै समानता रहेको नेपाल र भारत तथा दुई देशका नागरिकबीचको सम्बन्ध थप मजबुत र स्नेहपूर्ण बनाउन यो कार्यक्रम सहयोगी हुने बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले सलमान खानको कार्यक्रम काठमाडौँमा हुँदा पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने टिप्पणी गरे।
उनले सलमान खानको क्रेज दक्षिण एसियामा राम्रो भएकाले भारतका बिभिन्न सहर र बंगलादेशबाट समेत खानको कार्यक्रम हेर्न काठमाडौँमा दर्शकहरु आउने बिश्वास ब्यक्त गरे।
आयोजक ओडिसीका प्रमुख गुरुङले कार्यक्रमबाट राम्रो मुनाफा भए नाफामा केहि अंश सामाजिक कार्यमा खर्च गर्ने बताए।