
चीनले दोक्लाम चीनको हिस्सा रहेको र त्यहाँ अहिले सडक निर्माणको काम भइरहेको जनाएको छ ।
चीनको विदेश मन्त्रालयले आफ्नो देशले दोक्लाम क्षेत्रमा गरिहेको सडक निर्माण कार्य पूर्णरुपले जायज रहेको बताए । चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले बेइजिङमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिए ।
केही दिनअघि भारतीय पत्रिका इकोनोमिक टाइम्सले स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै दोक्लामको उत्तरी क्षेत्रमा चीनले सातवटा हेलिप्याड बनाइसकेको जनाएको थियो ।
त्यस क्षेत्रमा सैन्य अखडा रहेको र हतियारले भरिएका गाडी पनि तैनाथ रहेको खबरमा दाबी गरिएको थियो ।
विवादित ‘दोक्लाम’को उत्तरी क्षेत्र चीनको कब्जामा
तर अहिले भइरहेको निर्माणका कार्य विवादित क्षेत्रमा नरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । यो विषयलाई लिएर भारतका राजनीतिक दलमा चिन्ता भने थपिएको छ ।
बेइजिङमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता लु ले भने ‘दोक्लाम चीनको भाग हो र रहने छ । अहिले त्यस क्षेत्रमा रहेका बासिन्दा तथा सेनाको सुविधाका लागि सडक निर्माणको काम भइरहेको छ । यो पूर्ण रुपले वैध छ किनकी हामीले कानुनको दायरामा रहेर आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गरेका छौँ ।’
उनले अघि भने ‘यदि भारतले आफ्नो क्षेत्रमा कुनै निर्माण कार्य गर्छ भने चीनले त्यसबारे केही बोल्ने छैन । हामीलाई आश छ कि चीनको जायज गतिविधिका बारेमा अरु कुनै देशले नचाहिने टिप्पणी गर्ने छैनन् ।’
गएको वर्षको जुन १६ मा दोक्लाममा चीनले बाटो बनाउन थालेपछि विवाद सुरु भएको थियो । त्यो विवाद ७३ दिनसम्म चलेको थियो ।
त्यो बेलाको तनावले भारतले सबक सिकेको आश चीनले गरेको विदेश मन्त्रालयका प्रवक्ता लुले बताए ।