
दाङ – नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले देउवा सरकारले प्रादेशिक राजधानी तोक्न गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन ।
उनले दाङ्गमा प्रदेशको राजधानी माग गर्दै थालिएको आन्दोलनको स्वरुप परिवर्तन गर्दै आन्दोलनलाई जारी राख्नु पर्ने वताएका हुन् ।
‘निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ तर यसको स्वरुप परिवर्तन गर्न आवश्यक छ’ उनले भने ‘बन्द नगरेर बिरोधसभा, ज्ञापन पत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनु पर्छ ।’
माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचनलाई दाङमै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने, पाँच नम्बर प्रदेशका सांसदलाई दाङमा स्वागत गर्नु पर्ने उनले बताए ।
हेलिकप्टर चढेर आए महरा
दाङ्गमा प्रादेशिक राजधानी बनाउनुपर्ने माग राख्दै थालिएको आन्दोलनमा नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा हेलिकप्टर चढेर दाङ्गको लमही आएका हुन् ।
दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका महरा आमहड्तालको चौथो दिन शनिबार दाङ्गको लमही आएका हुन् ।
लमहीमा दाङ्गलाई प्रादेशिक राजधानी घोषणा गर भन्ने मुख्य नाराको साथ आयोजना गरिएको संयुक्त आमसभामा सहभागी हुन उनी यहाँ आएका हुन् ।