
सुर्खेत – प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ ।
क्षेत्रीय प्रशासन कार्यालयले शनिबार बेलुका क्षेत्रीय वन तालिम केन्द्रको भवनमा प्रदेश प्रमुखको कार्यालयको बोर्ड राखिएको हो ।
संघीय संरचना अनुसार यस प्रदेशका प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्र सोही कार्यालयमा हुने क्षेत्रीय प्रशासक सुरेश प्रधानले बताए ।
सरकारले अर्काे व्यवस्था नगरेसम्मका लागि प्रदेश प्रमुखले तालिम केन्द्रबाटै आफ्ना कामकारवाही अगाडि बढाउने छन् ।
६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा प्रदेशसभा निर्वाचनबाट विजयी प्रदेश सदस्यको सपथका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
क्षेत्रीय प्रशासक प्रधानका अनुसार आइतबार बिहान १० बजे प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि ११ बजे प्रदेश सांसदलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।
प्रदेश सांसदलाई जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाइने तयारी रहेको उनले बताए । ६ नम्बर प्रदेशका दश जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना प्रदेशसभा सांसदले आइतबार प्रमाण पत्र पाउनेछन् ।