काठमाडौँ- यस वर्षको ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत पुरस्कार’ वरिष्ठ साहित्यकार तथा नाट्यनिर्देशक श्यामदास वैष्णव र वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ।
पुरस्कारको राशि जनही रु २५ हजार १११ रहेको छ। विसं १९८१ मा जन्मेका वैष्णवको पाँचवटा कविता संग्रह प्रकाशित भइसकेको छ भने नाट्य निर्देशक तथा अभिनेताको रुपमा पनि परिचित छन्। थुप्रै गीत रेकर्ड गरिसकेका वैष्णवले धेरै वर्ष सम्पादकको रुपमा पनि कार्य गरिसकेका छन्।
उनी शुभराज्याभिषेक पदक, महेन्द्र प्रज्ञा पुरस्कारका साथै गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइसकेका छन्। विशिष्ट गायक वैद्यले ६ दशक लामो सांगितिक यात्रामा थुप्रै भावुक, मार्मिक तथा राष्ट्रिय गीत तथा भजन गाएका छन्।
वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका वैद्यले खाद्य अनुसन्धान अधिकृतका रुपमा पनि सेवा गरिसकेका छन्। उनले नेपाल भाषाको पनि गीत गाएका छन्।
‘हरिप्रसाद कल्याणी रिमाल संचार सेवा सम्मान’बाट पुरस्कृत भएका वरिष्ठ गीतकार किरण खरेलले विसं २०१४ सालदेखि गीत रचना गरेका हुन्। सर्वोकृष्ट गीतकारका रुपमा परिचित खरेलको गीतिसंग्रह प्रकाशित छन् भने उहाँको १०० भन्दा बढी गीत चलचित्रमा प्रयोग भइसकेको छ । उनी त्रिशक्ति पट्टबाट विभूषित छन्।