
काठमाडौं– फर्पिङ, दक्षिणकालीको बाटो भएर काठमाडौं–विरगन्ज चल्ने टाटा सुमो बन्द भएका छन्। फर्पिङमा शुक्रबार राती टाटा सुमोको ठक्करबाट स्कुटीमा सवार एक स्थानियको मृत्यु भएपछि टाटा सुमो सन्चालन बन्द भएको हो।
विरगन्जबाट काठमाडौं आईरहेको ना १ ज ३३७५ नम्बरको टाटा सुमाले काठमाडौंबाट दक्षिणकालीतर्फ गईरहेको बा ५७ प ३०७८ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटीमा पछाडि बसेकी दक्षिणकाली नगरपालिका ६, टल्कुकी २७ वर्षिया एलिसा भन्डारीको मृत्यु भएको थियो।
एलिसा पेशाले डाक्टर हुन्। उनी केही दिनअघिमात्र अमेरिकाबाट नेपाल आएको जनाईएको छ। स्कुटी चालक अर्थात एलिसाका भाई अमृतविक्रम भन्डारी पनि सामान्य घाइते भएका थिए। भन्डारीको मृत्युपछि आक्रोसित स्थानिय आन्दोलिन बनेका थिए।
उनीहरुले टाटा सुमोले बारम्बार लापरबाही गरिरहेको आरोप लगाउँदैं त्यस क्षेत्रमा टाटा सुमो सन्चालन बन्द गर्नुपर्ने माग राखेका थिए।
टाटा सुमो नचलाउने सहमतीपछि आफन्तले मृतकको शव बुझेका थिए। फर्पिङ प्रहरी प्रभागका प्रहरी निरिक्षक (इन्सपेक्टर) विष्णु सोतीले अरु गाडि चलिरहेपनि सुमो मात्र बन्द भएको बताए।