
धनगढी- मुलुकका अन्य प्रदेशमा सपथ ग्रहणको कार्यक्रम सकिएपनि प्रदेश ७ मा भने ढिलाई भएको छ।
प्रदेश प्रमुख मोहनराज मल्ल काठमाडौबाट धनगढी पुग्न ढिलाई भएपछि प्रदेश नम्बर ७ मा प्रदेशसभा सदस्यको सपथ ग्रहण दिउसो ३ बजे मात्रै हुने भएको हो।
यस अघि आईतवार बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम तय गरिए पनि प्रदेश प्रमुख मल्ल अहिलेपनि बाटोमै रहेकोले दिउँसो ३ बजेलाई कार्यक्रम सारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए।
खराब मौसमका कारण नेपालगञ्ज र धनगढीको उडान हुन नसकेपछि प्रदेश प्रमुख मल्ल सडकमार्ग हुँदै धनगढी आइरहेका छन्। उनि अबको केहि बेरमा धनगढी पुग्नेछन्।
प्रदेश प्रमुख मल्ल धनगढी पुगेपछि सचिवालयमा पदबहाली गरेपछि खाना खाने कार्यक्रम छ त्यसपछि मात्रै सपथको कार्यक्रम सुरु हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
जिल्ला समन्वय समितिको सभाहलमा सपथ ग्रहणको कार्यक्रम राखिएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदेश प्रमुखले सबैभन्दा पहिले प्रदेशसभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद दिव्यश्वरी शाहलाई सपथ ग्रहण गराउने छन्।
त्यसपछि ज्येष्ठ सदस्य शाहले अरु सदस्यहरूलाई सपथ ग्रहण गराउने छन्। काठामाडौमा रहनुभएकी शाह पनि धनगढी आईरहनुभएको र दिउसोसम्म पुग्ने जनाईएको छ।
प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिक तर्फ २१ जना गरेर कुल ५३ प्रदेशसभा सदस्य छन्। जसमा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२, र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन्।