स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको हो । बार्सिलोनाको जितमा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेजले दुई दुई गोल गरे । यस्तै इभाव रेकिटिकले एक गोल गरे ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा बार्सिलोनाले सबै पाँच गोल दोस्रो हाफमा गरेको हो । ५९ औँ मिनेटमा रेकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६४ औँ मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे ।
त्यसको पाँच मिनेटपछि स्वारेजले गोल गर्दै बार्सिलोनाई ३–० को अग्रता दिलाए । ८० औँ मिनेटमा मेस्सी तथा ८९ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि लिडर बार्सिलोना ५–० ले विजयी भयो ।
मेस्सीले यो सिजन ला लिगामा १९ गोल गरिसकेका छन् । यस्तै यो खेलमा दुई गोल गरेका स्वारेजले बार्सिलोनाबाट ला लिगामा एक सय गोल पूरा गरेका छन् । उनले एक सय गोल गर्न एक सय १४ खेल खेले ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको २० खेलबाट ५४ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ तथा चौथो स्थानको रियल मड्रिड भन्दा १९ अंकले अघि रहेको छ ।
राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले रियल सोसिडाडलाई २–१ ले हरायो । एलाभेस र लेगानेसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































