नेइमार बिना खेलेको फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । पिएसजीलाई लियोनले २–१ ले हराएको हो ।
दोस्रो मिनेटमा नै नाबिल फेकिरले गोल गर्दै घरेलु टोली लियोनलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा लिविन कुर्जावाले पिएसजीका लागि बराबरी गोल फर्काए ।
५७ औँ मिनेटमा डानी एल्वेस रोतो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । एडिसन काभानी, एन्जल डि मारिया, केलियन एमबाप्पेसहितका खेलाडी भए पनि नेइमार बिनाको टिमले गोल गर्न सकेन ।
नेइमार थाइ इन्जुरीका कारण मैदान बाहिर रहन बाध्य भएका हुन् । दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी मेम्फिस डिपेले गोल गर्दै लियोनलाई २–१ को जित दिलाए ।
यो खेलमा पिएसजीका एमबाप्पे चोटग्रस्त भए ।
जितपछि दोस्रो स्थानमा उक्लिएको लियोनको २२ खेलबाट ४८ अंक भएको छ । शीर्ष स्थानको पिएसजीको समान खेलबाट ५६ अंक छ ।

भर्खरै
लोकप्रिय






































































































































































































