
काठमाडौं- बैंकमा रकम जम्मा गर्न आफ्नै खाता भएको बैंकमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ। अब जुनसुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न सकिने भएको हो।
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै जुनसुकै संस्थाबाट पनि आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
नेपाल किल्यरीङ हाउसको एनसीएचएल-आइपीएस प्रणाली मार्फत जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिनेछ। राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई एनसीएचएल-आइपीएस प्रणाली व्यवस्थापन गर्न निर्देशन दिएको हो।
राष्ट्र बैंकले एनसीएचएल-आइपीएस प्रणाली मार्फत रकम जम्मा गर्दा लाग्ने शुल्कबारे ग्राहकलाई जानकारी गराउन भनेको छ।
यस्तै राष्ट्र बैंकले १ लाख रुपैयाँ भन्दा बढी रकम खातामा जम्मा गर्दा स्रोत खुलाउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ।
नेपाल किल्यरीङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानका अनुसार एनसीएचएल-आइपीएस सेवा प्रदान गर्न ६९ बैंक वित्तीय संस्थाहरुले सम्झौता गरिसकेका छन्।
ब्याजदरमा कडाई
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरु निर्देशन दिँदै ३ महिना सम्म प्रकाशित ब्याजदर परिवर्तन गर्न रोक लगाएको छ।
वित्तीय संस्थाहरु बीच निक्षेप संकलनमा अस्वस्थ प्रतिष्पर्धा हुँदा मुद्दती निक्षेपमा १४ प्रतिशत सम्म ब्याज दिने अवस्था पुगेको थियो।
राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप सङ्कलन गर्दा प्रकाशित ब्याजदर भन्दा २ प्रतिशत बढी बोलकबोल गर्न भने छुट दिएको छ।