
सञ्जय लिला भंसालीको चलचित्र ‘पद्यावत’ को विरोधमा गुजरातमा तनाव बढेको छ । सर्वोच्च अदालतले पद्यावत लाई देशभर प्रदर्शनमा रोक नलगाउन आदेश दिएपछि जनवरी २५ देखि प्रदर्शनमा आउँदैछ ।
तर गुजरातमा पद्यावतको विषयलाई लिएर केही दिनदेखि हिंसा भड्किएको छ । चलचित्र रिलिजको विरोधमा चलचित्र घरमा तोडफोड, चक्का जाम तथा जुलुस निकालेका छन् ।
अहमदावादको निकोल क्षेत्रको चलचित्र घरमा पद्यावतको ट्रेलर देखाइएको थियो । त्यसपछि प्रदर्शनकारीले चलचित्र घरको टिकट बुकिङ काउन्टरमा तोडफोड गरेका छन् ।
यसैबिच गुजरात राज्य सरकारले पद्यावतको प्रदर्शन रोक्नका लागि कानूनी बाटोको खोजीमा छ । चलचित्रको रिलिजमा लागेको प्रतिबन्ध हटाउनका लागि सर्वोच्च अदालतले दिएको आदेशपछि आफूहरु कानूनी उपायको खोजीमा रहेको गुजरातका गृहमन्त्री प्रदीप हिंस जाडेजाले बताए ।
सेन्सर बोर्डबाट मन्जुरी पाएपछि पनि भारतीय जनता पार्टी भाजपाको शासन रहेको गुजरात, राजस्थान, हरियाणा र मध्य प्रदेश सरकारले पद्यावतको प्रदर्शनमा रोक लगाएका थिए ।
तर सर्वोच्च अदालतले चलचित्रको रिलिजमा लगाइएको प्रतिबन्ध हटाउन भनेपछि यि राज्यमा तनाव बढेको हो । सबै भन्दा धेरै गुजरातमा समस्या भएको छ ।
सरकारले सुरक्षा व्यवस्था राम्रो बनाउने बताए पनि गुजरातका मल्टिप्लेक्स सिनेमा घरहरुले पद्यावत २५ जनवरीमा रिलिज गर्न अस्वीकार गरेका छन् ।
राजपूत रानी पद्यावतीको जीवनमा आधारित यो चलचित्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । यो चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह तथा शाहीद कूपरको मूख्य भूमिका छ ।