मेलबर्न– अन्तर्राष्ट्रिय टेनिसमा दक्षिण कोरियाकोे उपस्थिती त्यति बलियो छैन। तर वर्षको पहिलोे ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनमा सोही देशका एक युवा खेलाडीले सनसनी मच्चाएका छन्।
२१ वर्षिय चुङ ह्योनले पुर्व विश्व नम्बर एक नोभाक जोकोभिचलाई सोझो सेटमा हराएर क्वार्टरफाइनल पुगे।
विश्व वरियताक्रममा ५८ औं स्थानमा रहेका चुङले जोकोभिचको चुनौती ७–६,७–५, ७–६ को सोझो सेटमा समाप्त पारे।
सन् २०१५ देखी ग्रान्डस्लाम टेनिस खेल्न थालेका चोङ ग्रान्डस्लाम प्रतियोगितामा यसअघि तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका थिएनन्।
गत वर्षको फ्रेन्च ओपनमा तेस्रो चरण पुग्नु नै ग्रान्डस्लाम प्रतियोगितामा उनको सबैभन्दा ठुलो सफलता थियो।
चुङ दक्षिण कोरियाका नम्बर एक टेनिस खेलाडी हुन्। सन् २०११ देखी २०१५ सम्मका कुल २० ग्रान्डस्लाम उपाधिमध्ये नौ वटा जितेका जोकोभिच समग्रमा १२ पटक ग्रान्डस्लाम जितेका खेलाडी हुन्।
हरेक वर्ष चार वटा ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुने गर्छ। हाल वरियताक्रममा १४ औं स्थानमा रहेका ३० वर्षिय जोकोभिचले सन् २०१६ को फ्रेन्च ओपनयता ग्रान्डस्लाम उपाधि जित्न सकेका छैनन्। त्यसयता उनी एकपटक मात्र फाइनल पुगेका छन्।
गत वर्ष उनी अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका थिए भने फ्रेन्च ओपन र विम्बल्डनमा क्वार्टरफाइनलसम्म पुगेका थिए। यूएस ओपनमा भने उनी सहभागी थिएनन्। जोकोभिचले अस्ट्रेलियन ओपन कीर्तिमानी ६ पटक जितेका छन्। सन् २०११ देखी २०१६ को बीचमा उनले एक पटकमात्र यो प्रतियोगिताको उपाधि गुमाएका थिए।
जोकोभिचविरुद्ध प्राप्त सफलतापछि चुङ कुनैपनि ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनल पुग्ने पहिलो दक्षिण कोरियाली खेलाडी बनेका छन्। जोकोभिच कुर्कुचाको चोटका कारण पछिल्लो समय स्वभाविक खेल प्रदर्शन गर्न सकिरहेका छैनन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































