पोखरा- आहा राराको १६ औं संस्करणमा उद्घाटन खेलमा आयोजक साहारा क्लब बाहिरिएको छ।
उद्घाटन खेलमा साहारालाई ३-० ले पराजित गर्दै गतवर्षको नतिजालाई सुदूर पश्चिमले उल्ट्याएको छ।
अघिल्लो संस्करणमा सुदुरपश्चिम सहारा क्लबसँग ४–० को फराकिलो अन्तरले पराजित भएपछि उद्घाटन खेलबाटै बाहिरिएको थियो।
सोमबारको खेलमा सुदूरपश्चिमका लागि धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालले गोल गरे।
२५ औं मिनेटमा धनबहादुर थापाको गोलबाट अग्रता लिएको सुदूरपश्चिमका लागि ७८ औं मिनेटमा मनिराम चौधरीले दोस्रो गोल गरे।
थपिएको अन्तिम मिनेटमा सुदूरपश्चिमका लागि राकेश हमालले थप १ गोल गरी ३–० को नतिजा निकाले।
घरेलु खेलाडीलाई मात्रै प्राथमिकतामा राखेर मैदानमा उतारेको सहाराले सुदूर पश्चिमको चुनौती पन्छाउन सकेन। विगतमा विदेशी खेलाडी खेलाउँदै गर्विलो छवि बनाए पनि सहाराले पाएका अवसर गुमाउँदा उदघाटन खेलबाटै बिदाइ लिन पुग्यो।
अधिकांश समय बल आफनो नियन्त्रणमा लिए पनि सहाराले दोस्रो हाफमा लय समात्न सकेन।
पहिलो हाफमै गोलको सामना गरेको सहारा दोस्रो हाफमा भने थप दुई गोल खाँदै गोल्डकपको उदघाटन खेलबाटै चिप्लियो।
लङ थ्रो बललाई सहाराका डिफेन्सले क्लियर गर्न नसकेपछि धनबहादुर थापाले सिक्सयार्ड बक्सबाट गोल गर्दै सुदूर पश्चिमलाई पोखराको यात्रालाई अझै लम्ब्याउने संकेत देखायो।
दोस्रो हाफको ७८ औं मिनेटमा मनिराम चौधरीले क्लबको लागि दोस्रो गोल थप्दै अन्तर बढ्यो।
९० प्लस २ मिनेटमा राकेश हमालले अर्को गोल थपेपछि सहाराले हार स्वीकार्यो। पहिलो हाफमा सहाराले महत्वपूर्ण अवसर गुमायो।
२१ औं मिनेटमा रिचर्ड पुनको पासलाई विनोद गुरुङले डिफेन्सलाई कटाउँदै गोलकिपर अगाडि बढेको अवस्थामा समेत क्रसबारमाथि हिर्काए। दोस्रो हाफमा पनि सरोज योन्जनको ग्रासबललाई त्रिदेव गुरुङले क्रसबार माथि फाले। ५८ औं मिनेटमा पनि त्रिदेवको पासलाई उत्तम गुरुङको ठाँउमा मैदान छिरेका विजय श्रेष्ठले खेर फाले।
६८ औं मिनेटमा त्रिदेवकै पासमा विजयले अर्को अवसरलाई चुकाए।
प्रतियोगिता अवधिभर राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसकेपछि आयोजक सहारा उद्घाटनबाटै बाहिरिनु परेको हो।
खेलपछि पत्रकारहरुसँग कुरा गर्दै सहारा क्लवका प्रशिक्षक किरण श्रेष्ठले विदेशी खेलाडी खेलाउन नपाउँदा जीत गुमेको प्रतिक्रिया दिएका छन्।
सहारा क्लवले बोबी र शाहेद (अफ्रिकन खेलाडी)लाई टीमबाट खेलाउँदै आएको थियो। तर वर्कपरमिट नभएका खेलाडीलाई प्रतियोगितामा समाबेश नगराउने आफ्नै नियमका कारण सहारा पराजित भएको छ।
प्रशिक्षक श्रेष्ठले धेरै अवसर गुमाएपछि सफलतबाट चुकेको बताए।
सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले सोचेभन्दा राम्रो नतिजा निकालेको बताए। सहारा क्लब बलियो भएपनि फिनिसिङ राम्रो नभएको उनको प्रतिक्रिया छ।
सुदूरपश्चिमबाट पहिलो रोजाइका दुई खेलाडी अनुपस्थित भएको भन्दै उनले आउँदो खेलमा फर्मको टीम मैदानमा उत्रिने बताएका छन्।
सहारा १२ औं संस्करणको विजेता टीम हो भने दुई पटक सम्म फाइनल पुगेर पराजित भएको थियो। प्रतियोगितामा सुदूरपश्चिमका मनिराम चौधरी म्यान अफ दि म्याच घोषित भएका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































