
नायिका केकी अधिकारीले निर्माण गरेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु काउ’ युट्युबमा रिलिज भएको २४ घन्टामै करिब साढे तीन लाखभन्दा बढीले हेरेका छन्।
मोडलिङ, म्युजिक भिडियो हुँदै अभिनयमा लोकप्रियता कमाएर निर्माणमा हात हालेकी केकी पहिलो चलचित्रको पहिलो गीतमा पाएको प्रतिक्रियाबाट निकै उत्साहित छिन्। राजनराज शिवाकोटीको संगीत तथा राजनराज र लोकप्रिय गायिका मेलिना राईको आवाजमा रिमा विश्वकर्मा, केकी आफैँ, गम्भीर बिष्ट र विनोद न्यौपानेको अभिनय छ। गम्भीर ‘कोहलपुर एक्सप्रेस’का नृत्य निर्देशक पनि हुन्।
यो मेलोडियस गीतमा रिमा नृत्य र अभिनय दुवैमा जमेकी छन्। युट्युबमा यो गीत हेर्ने दर्शकले रिमालाई निकै मन पराएको प्रतिक्रिया दिएका छन्।
तीनवटा गीतमात्र भएको ‘कोहलपुर एक्सप्रेस’का बाँकी दुई गीत अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाले तयार पारेका हुन्। अहिलेका तीन चर्चित संगीतकर्मी कालीप्रसाद, राजन र अर्जुनबाट ‘कोहलपुर एक्सप्रेस’का तीन गीत कम्पोज गराएको केकीले जानकारी दिइन्।
नेपाली चलचित्र जगतमा मिलनसार र अध्ययनशील नायिकाको छवि बनाएकी केकीको फेसबुकको टाइमलाइन सोमबार यो गीत रिलिज भएयता उनलाई दिएका बधाई र शुभकामनाका स्टाटसले भरिएको छ। गीत रिलिज भएको २४ घन्टामै सयौँले फेसबुक, म्यासेज र फोनबाट चलचित्रका लागि आफूलाई शुभकामना दिएको केकीले जानकारी दिएकी छन्।
केकीका अनुसार २०७५ वैशाखमा रिलिज हुन लागेको ‘कोहलपुर एक्सप्रेस’ अहिले सम्पादनका क्रममा छ। जुनकिरी आर्ट्स प्रोडक्सनको ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्र विशाल भण्डारीले निर्देशन गरेका हुन्।
हेर्नुहोस् गीत: