
म्यानचेस्टर सिटी लिग (काराबारओ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पेप गार्डिवलाको टिम सिटी सेमिफाइनलको दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३–२ ले हराएर समग्रमा ५–३ को जितसहित लिग कपको फाइनलमा पुगेको हो । पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो ।
मंगलबार राति अवे मैदानमा भएको खेलमा ४३ औँ मिनेटमा लिरोय सानेको गोलबाट म्यानचेस्टर सिटीले पहिलो हाफमा १–० को अग्रता लियो ।
दोस्रो हाफको चौथो मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । मार्लोन प्याकले ६४ औँ मिनेटमा हेडमार्फत ब्रिस्टोलका लागि सुन्दर गोल गरे ।
इन्जुरी समयको चौथो मिनेटमा ब्रिस्टोलका एडिन फ्लिन्टले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर इन्जुरी समयको छैटौँ मिनेटमा क्लबसँग नयाँ सम्झौता गरेको केविन डी ब्राउनले गोल गर्दै म्यानचेस्टर सिटीलाई ३–२ को जित दिलाए ।
बराबरी भएको भए पनि पहिलो लेग जितेकाले गार्डिवलाकोा टिम सिटी फाइनल पुग्ने थियो । तर डी ब्राउनको गोलले दोस्रो लेगमा पनि जित निकाल्न सिटी सफल भयो ।
म्यानचेस्टर सिटी प्रशिक्षक गार्डिवलाको नेतृत्वमा कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । फाइनल खेल आउँदो फेब्रुअरी २५ मा वेम्बलीमा हुनेछ ।