काठमाडौं – देशभरिको मौसम बुधबार बिहानैदेखि बलदी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको छ भने मौसम पनि बदली भएको छ ।
पश्चिमी वायुको प्रभावले मौसमी बदली भएको र अब एक दुई दिन हिउँदे वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र पश्चिमका क्षेत्रमा बुधबार तुलनात्मक रुपमा पानी बढी पर्ने देखिएको मौसमविद पोख्रेलले जानकारी दिइन् ।
डडेलधुरामा हिउँ परेको छ भने अछामसहितका जिल्लामा असिना र पानी परेको छ । यस्तै पोखरामा पनि पानी परेको छ । पश्चिमी वायु विस्तारै मध्य हुँदै पूर्व तिर जाने भएकाले बुधबार दिनभर देशभरको मौसम बदली हुनेछ ।
पूर्वी क्षेत्रमा पनि दिउँसो वा बेलुकादेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बेलुका काठमाडौंको तापक्रम केही घटे पनि हिउँदे पानी पर्न सुरु भएकाले अब दिन दिनै तापक्रम बढ्दै जाने अनुमान छ ।