
काठमाडौं – हरेक वर्ष सप्ताहव्यापी रुपमा शहीदको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइने शहीद सप्ताह सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म काठमाडौं महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताह मनाउने गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मनाउन मुल समारोह समिति गठन गरिएको छ ।
यस अन्तर्गत माघ १० गते बुधबार टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा गरिएको छ । जहानीया राणा शासनको विरोधमा लागेका कारण तत्कालीन राणा शासकले फाँसी दिएका शहीदसहित देशका अरु विभिन्न आन्दोलनमा अमरत्व प्राप्त गरेका शहीदको सम्झनामा शहीद सप्ताह मनाउने गरिएको छ ।
शहीद सप्ताह अन्तर्गत माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान, शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । यसका लागि काठमाडौं महानगरपालिकाले मूल समारोह समिति नै बनाएको छ ।