
काठमाडौं – यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ८३ जना उम्मेदवारले बुधबार मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक/अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
२४ गते हुने निर्वाचनबाट सात प्रदेशबाट ५६ जना निर्वाचित हुनेछन् । तीनजना भने मन्त्रीपरिषदको सफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । बुधबार भएको मनोनयन दर्ता अनुसार ५६ मध्ये १८ पदमा एकजनाको मात्रै उम्मेदवारी परेको छ ।
यसको अर्थ एकजनाको मात्रै उम्मेदवारी परेका ठाउँमा उम्मेदवार उपर दाबी विरोध नपरे वा परे पनि उम्मेदवारी खारेज हुने अवस्था नआएमा १८ जना निर्विरोध निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले बुधबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर दाबी विरोधको उजुरी दर्ता गर्न बिहीबार र शुक्रबारको समय दिएको छ । राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिने छ।
माघ १३ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै माघ १५ गते दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका छ ।
माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । हरेक प्रदेशबाट महिला ३ जना, दलित १ जना, अपाङ्गता तथा अल्पसंख्यक मध्येबाट १ जना तथा अन्य ३ जना सहित ८/८ जना गरी ५६ जना निर्वाचित हुनेछन् ।
राष्ट्रपतिबाट मनोनित ३ जना सहित ५९ जनाको राष्ट्रियसभा बन्नेछ । राष्ट्रिय सभा सदस्य चुनावमा ५ सय ५० जना प्रदेश सभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखरउपप्रमुख गरी २०५६ जना मतदाता छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ ।