
चन्द्रागिरी- सबेरै चिसो सिरेटोमा पुरै खुलेको निलो आकाशमुनि टल्किँदो ऐतिहासिक चन्द्रागिरीको डाँडामा ठडिएको पृथ्वीनारायण शाहको सुनौलो सालिक (स्ट्याचु) सँग आत्मीयता दर्शाउन व्यस्त थिए एक हुल विदेशीहरु।
वास्तवमा उनीहरु हिमपातको दृश्यावलोकनका लागि गएका थिए तर उनीहरुलाई बढी आकर्षित त्यो सालिकले गर्यो।
फिस्टेल एयरका क्याप्टेन (पाइलट) पिटर केहीबेर सोचमग्न भए। अनि आफ्नो आधा दर्जन सहयात्रीहरुलाई बोलाए।
नेपाली एकीकरणका रचयीता पृथ्वीनारायण शाहको सांकेतिक चोर औंला ठडाएको त्यो सालिकमुनि उनीहरु पंक्तिबद्ध भए र सबैले एकएक औँला ठडाए।
अनौठो श्रद्धान्जली थियो त्यो उनीहरुका तर्फबाट राष्ट्रनिर्मातालाई।
बुधबार माघे झरीसँगै चन्द्रागिरीमा हिउँ परेको खबरले निकै उत्साहित बनेका पिटरले भोलिपल्ट बिहीबार मात्रै केवलकारबाट त्यहाँ उक्लने मौका पाएका थिए।
हिउँका डल्ला एकअर्कातिर हुर्याउने सपनासहित त्यहाँ पुगेका प्रिटरलाई घामले केही प्रतिकूलता प्रदान गरेको थियो।
हिउँ पग्लिसकेको थियो भने सेताम्मे बनेका बाटाहरु चिप्ला बनेर उनको यात्रालाई कठिन बनाएको थियो।
तर, वरिपरि हिउँको टोपी लगाएका मनोरम हिमालका दृश्यहरुका कारण निराश पिटरले केही क्षतिपूर्ति भेटाएको अनुभूति गरिरहेका थिए। त्यो उनको मुस्कुराहटमा प्रतिविम्वित थियो।
हिमालको दृश्यमा पिटर, उनका सहयात्री जस्तै छेउतिर खुसीमा उफ्रिँदै थिइन् भक्तपुरलाई कार्यथलो बनाउँदै आएकी शान्ति कुमाल पनि।
भागदौडमा बित्ने दैनिकीलाई थाती राख्दै उनलाई पनि चन्द्रागिरीको हिउँले लोभ्याएको थियो।
पिटरजस्तै बाक्लो हिउँमा खेल्ने उनको आकांक्षा अधुरो रह्यो तर वरिपरिका डाँडाँहरुमा भरिएको हिउँका कारण त्यहाँ थपिएको सौन्दर्यले उनलाई मुग्ध बनायो। घण्टौँ त्यसैमा हराइन् उनी बुधबारको हिउँ हराएजसरी।
रोमाञ्चित मन
हिउँ खेल्ने उद्देश्यसहित चन्द्रागिरीको यात्रा तय गर्ने स्वदेशी या विदेशी पर्यटकलाई केवलकारदेखि सुरु हुने चन्द्रागिरीको यात्राले रोमाञ्चित बनाउँछ।
जोकसैलाई डाँडामा पुगेपछि मिल्ने चिसो र स्वच्छ हावाले चिसोमा पनि मनमोहक शितलता थप्छ।
‘हुन त हिउँ खेल्ननै टिकट लिएको थिएँ, पग्लिएछ । तर कुनै पछुतो छैन। चन्द्रागिरी यति सुन्दर रहेछ कि मलाई यहीँ बसिरहुँ जस्तो लाग्दैछ। अब यहाँको यात्रा अन्तिम हुने छैन,’ पृथ्वीनारायण शाहाको सालिकसँगै जोडिएको भालेश्वर महादेव मन्दिर दर्शनपछि कुमालले हाँस्दै भनिन।
चन्द्रागिरीडाँडाँबाट देखिने दृश्यले धुलाम्मे काठमाडौंको बाटो र भिडभाड पुरै बिर्सिएकी थिइन् उनले।
ऐतिहासिक थलो चन्द्रागिरीमा पुगेका प्रेम जोडीहरु अझ बढी रोमाञ्चित देखिन्थे।
अझ भनौ प्रेमलाई सिंचित गर्ने माध्यम बन्दै थिए त्यहाँका पानीका फोहोरा, केवलकार, पृथ्बीनारायणशाहाको सालिक, मन्दिर अनि वरिपरिका रेस्टुराँहरु।
एकैछिनमा बदलिने मौसमले चन्द्रागिरी पुग्ने युवाहरुलाई रोमाञ्चित बनाएको थियो, त्यो ऐतिहासिक थलोले।
केही दृश्य कैद गरिरहेका बेला पछिल्तिरबाट एउटा वाक्य कानमा ठोक्कियो, ‘यो त राजधानीको मुस्ताङ पो हो । हामी सबै किसिमका मौसम महसुस गर्न सक्छौं।’
बुढ्यौलीको रहर
चन्द्रागिरीले उमेरले थकाइ मार्दै गरेकाहरुलाई पनि लोभ्याइरहेको थियो।
सोलुखुम्बु, फाप्लुकी ७२ वर्षीय कान्छीमाया तामाङलाई पनि चन्द्रागिरी, मन्दिर र तिनै पृथ्वीनारायण शाहलाई निहाल्ने मौका मिलेको थियो।
बुढ्याैलीमा महादेवको दर्शन गर्न हवाइ, सडक मार्ग र केवलकार हुँदै उनी चन्द्रागिरी पुगेकी थिइन्।
हिमालको काखमा जीवन बिताएकी उनका लागि हिउँ नयाँ कुरा थिएन।
तर. उनलाई फरकपन महसुस गराए घना सहरलाई बार लगाएका डाँडाकाँडा अनि सेताम्मे चुचुराहरु, अग्लो डाँडाको मन्दिर, निर्माण गरिएका पार्क र रेस्टुराँहरुले।
धर्मले जोडेको एकता
चन्द्रागिरी डाँडो, जहाँ पुगेपछि पृथ्वीनारायण शाहले उपत्यका देखे र त्यो कब्जा गर्ने सपना बुने अनि सफल पनि भए।
उपत्यका विजयपछि एकीकृत नेपालको स्वरुप दिए गोरखाका राजाले।
आईएमई ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरीको त्यो एेतिहासिक पक्षसँग पर्यटन समृद्धिको सपना जोडे।
त्यतिमात्र होइन, पृथ्वीनारायण शाहका बफादार सहयोगी कालु पाण्डेका बंशज र संयोगले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्यो सालिकको अनावरण गराए।
वातावरणीय र मंहगाइका हिसाबले उक्त परियोजना विवादमा आए पनि उपत्यकाबाटै दैनिक हजारौं पर्यटक भित्रिने चन्द्रागिरी समुद्र सतहबाट दुई हजार ५ सय ४० मिटर उचाइमा अवस्थित छ।
खासगरी प्रदूषणबाट पीडित राजधानीबासीका लागि चन्द्रागिरी फोक्सोभरि एकैछिन भए पनि शुद्ध अक्सिजन लिने थलो बनेको छ।
तर, बाक्लिँदो भिड र बस्तीले प्रश्न जन्माएको छ, के त्यहाँ आउँदा दिनमा त्यस्तै अक्सिजन पाइएला त ?
के पिटर, शान्ति कुमाल र कान्छीमाया तामाङ त्यही उत्साहका साथ त्यहाँ फेरि फर्कलान्?