
धनगढी- प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक यहि माघ २१ गते धनगढीमा बस्ने भएको छ।
प्रदेश प्रमुखको सचिवालयले माघ २१ गते प्रदेश सभाको पहिलो बैठक डाक्ने निर्णय बिहिवार मात्रै गरेको हो।
माघ २१ गते दिउसो १ बजे बैठक डाकिएपछि आवश्यक तयारी सुरु गरिएको प्रदेश प्रमुखको सचिवालयका सचिव युवराज सुवेदीले जानकारी दिए।
उनले निर्वाचनको परिणाम आएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान बमोजिम माघ २१ गते पहिलो बैठक डाकिएको बताए।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफू मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था रहेको छ।
त्यसलगत्तै मुख्यमन्त्री चयनको प्रक्रिया पनि सुरु हुनेछ। संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ।
संसदमा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्राबधान भएपनि प्रदेश ७ मा दलहरुले संसदिय दलको नेता भने चुनीसकेका छैनन्।
मुख्यमन्त्रीले कुल सदस्यको २० प्रतिशतभन्दा नबढ्ने गरी मन्त्रिपरिषद् गठन गर्नसक्ने व्यवस्था संविधानमा छ। जुन प्रावधान अनुसार ५३ सदस्यीय प्रदेश सभा रहेको प्रदेश ७ मा बढीमा ११ जनाको मन्त्रीपरिषद गठन हुनेछ ।
सम्बन्धित समाचारहरु…