
काठमाडौं- ‘शिल्पी थिएटर’ बत्तीसपुतलीमा ‘सातुको कथा’ नाटक प्रदर्शन भइरहेको छ।
प्रेम पौडेलको कथा र निर्देशन रहेको नाटकमा प्रभाकर न्यौपाने, वासुदेव खनाल, पुष्प अवस्थी र साक्षी लम्सालले अभिनय गरेका छन्।
कथामा ‘सेते जोगी’ को भूमिका निर्वाह गरेका न्यौपानेले पूर्ण न्याय गरेका छन्।उनले गरेको जोगी देखि उद्यमी सम्मको भूमिकालाई दर्शकले रुचाएका थिए। कथामा भिक्ष्या मागेको सातु बिक्रि गर्दै उद्यमी बन्न खोज्ने सेते जोगीको योजना प्रेरक छ।
यस्तै खनालले ‘मुखिया’, अवस्थीले चित्ले र लम्सालले ‘चन्चला’ को भूमिका पनि न्याय नै गरेका छन्।
स्टेज अगाडीबाट सारंगीको धुन र मादलको तालमा बज्ने संगीतले दर्शकलाई थप मनोरञ्जन दिन्छ।
नाटकको सुरुवातनै सारंगीको धुन र मादलको तालमा हुन्छ। अर्काको भविष्य भन्छु भन्ने सेते जोगीमा मुखियाको रुखो बचनपछि उद्यमी बन्ने चाहना आएको हुन्छ।
अवस्थीले विदेशबाट फर्केर नेपाललै अरुको गोठमा काम गर्न खोजेको दृश्य, सेते जोगीले उद्यमी बन्दै आर्थिक प्रगती गर्ने गरेको प्रयासले पनि दर्शकको मन छुन्छ।
चन्चलाले बारम्बार ‘निर्मली’ भन्दै भनेको संवाद त्यति आवश्यक देखिदैन। मुखियाले पनि डाइलक भन्दा क्षम्य गल्ति गरेका छन्। अवस्थीले अभिनयलाई जीवन्त बनाउन अझै मेहनत गर्नु पर्नेछ।
एक घण्टाको नाटक हेर्दा दर्शकले निर्देशकलाई खोट लगाउने ठाउँ खासै छैन।
गाउँ घरमा सुनाईने सामान्य कथाहरुलाई निर्देशकले कलात्मक रुपले थियटरमा प्रस्तुत गरेका छन्।
नाटक माघ १५ गते सम्म प्रदर्शन हुँदैछ। निर्देशक पौडेलका अनुसार, दिउँसो ११, १ र ५ बजे गरि तिन सो मा नाटक प्रदर्शन हुनेछ ।
शिल्पीमा शुक्रबार ११ बजेको सो मा इपीएस स्कुलका करिब २०० बिद्यार्थीले नाटकको आनन्द लिएका थिए।
लोकदृष्टि थिएटरले सातुको कथा नाटक प्रदर्शित गरेको हो।
लोक दृष्टि थिएटर र सातुको कथाका निर्देशक पौडेलले लोककथामा आधारित सुवासको कथा, लम्बरी लाले, सातुको कथा नाटक पनि निर्देशन गरेका छन्।