
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा लिग टु क्लब यिओविल टाउनमाथि ४–० को सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेडले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।
यहि हप्ता आर्सनलबाट आएका एलेक्स सान्चेजले यो खेलबाट म्यानचेस्टर युनाइटेडमा डेब्यु गरे । चार गोलमा दुई गोलका लागि सान्चेजले सहयोग गरेका छन् ।
४१ औँ मिनेटमा मार्कश राफोर्डको गोलबाट जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । यो गोलका लागि सान्चेजले सहयोग गरेका हुन् ।
६१ औँ मिनेटमा सान्चेजकै पासमा एन्डर हरेराले गोल गरेर अग्रता दोब्बर पारे । सान्चेज ७२ औँ मिनेटमा मैदानबाट बाहिर गए । ८९ औँ मिनेटमा जेसी लिङ्गार्ड र इन्जुरी समयको तेस्रो मिनेटमा रामेलु लुकाकुले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४–० ले विजयी भयो ।
जितसँगै उसले पाँचौँ चरणमा स्थान पक्का गरेको हो । यस्तै शुक्रबार राति नै भएको खेलमा शेफिल्ड वेइनस्डेले रिडिङलाई ३–१ ले हराएर एफए कपको पाँचौँ चरणमा स्थान बनाएको छ ।