
यो सिजन घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकिरहेको रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानलाई हटाएर नयाँ प्रशिक्षक ल्याउने तयारीमा जुटेको खबर आएको छ ।
रियल मड्रिडले जिदानलाई हटाएर उनको ठाउँमा प्रिमियर लिग क्लब टोटनह्यामका प्रशिक्षक माउरिसिओ पोकेटिनोलाई ल्याउन प्रयास गरिरहेको बेलायती पत्रिका डेलीमेलले जनाएको छ । रियल मड्रिडका अधिकारीले यसका लागि पोकेटिनाका सहयोगीसँग भेटेका छन् ।
पोकेटिनो पनि स्पेनमा काम गर्न इच्छुक देखिएको स्पेनिस सञ्चारमाध्यमको दाबी छ । पोकेटिनोको टोटनह्यामसँगको सम्झौता सन् २०२१ सम्मको छ । रियल मड्रिडले पोकेटिनोलाई प्रस्ताव गरेपछि इंग्लिस क्लब टोटनह्यामलाई उनलाई क्लबमै टिकाउन समस्या भएको छ ।
यस्तै लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएर पनि रियल प्रशिक्ष जिदान अहिले क्लबमा आफ्नो भविष्य जोगाउनका लागि संघर्षरत छन् ।
च्याम्पियन्सलिगमा राम्रो गरेपनि रियल मड्रिडले यो सिजन ला लिगामा खराब प्रदर्शन गरिरहेको छ । चौथो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि छ । यस्तै कोपा डेल रेबाट बाहिरिएपछि जिदानमाथि थप दबाब परेको हो ।