
इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१८ का लागि खेलाडीको लिलामी (अक्सन) सुरु भएको छ । सुरुवाति अक्सनमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेललाई कुनै पनि टिमले अनुबन्धित गर्न चाहेनन् । तर इंग्ल्याण्डका बेन स्टोक सबै भन्दा महंगा खेलाडी बने ।
यस्तै युवराज सिंह र गौतम गम्भीर किनै सस्तो मूल्यमा बिके । शनिबारको अक्सनमा भारतीय खेलाडीमा लोकेश राहुल सबैभन्दा महंगा क्रिकेटर बनेका छन् । शनिबार र आइतबारका लागि तय गरिएको अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडी सूचिकृत भएका छन् ।
शनिबार भएको अक्सनको क्रममा राजस्थान रोयल्सले इंग्ल्याण्डका बेन स्टोकलाई १२.५ करोड भारतीय रुपैयाँमा क्लबमा अनुबन्धित गरेको छ । यस्तै किंग्स इलाभेन पञ्जाबले लोकेश राहुललाई ११ करोडमा अनुबन्धित गरेको छ । उनले गएको सिजन बैंग्लोरबाट खेलेका थिए ।
यस्तै कोलकाता नाइट राइडर्सले ९.६० करोडमा क्रिस लिनलाई अनुबन्धित गरेको छ । यस्तै कोलकाताले अस्ट्रेलियाका मिचेल स्टार्कलाई ९.४ करोड, ग्लेन म्याक्सवेललाई दिल्ली डेयरडेविल्सले ९ करोडमा अनुबन्धित गरेको छ । यस्तै करुण नायरलाई ५.६० करोडमा पञ्जावले किनेको छ ।
क्रिस गेलसहित इंग्ल्याण्डका कप्ता जोए रुटलाई पनि कुनै क्लबले किनेनन् । उनी पहिलो पटक आइपिएलको अक्सन सूचिमा थिए । यस्तै मुरली विजयलाई अनुबन्ध गर्न पनि कुनै टिमले चासो देखाएनन् ।