
मोरङ- प्रदेश नम्बर एक प्रदेशसभाको पहिलो बैठक कहिले आह्वान होला भनेर प्रदेश सभासदस्यहरु अन्यौलमा रहेकाछन्।
प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र बैठक आव्हान प्रदेश प्रमुखले गर्नुपर्ने भएपनि, हालसम्म कुनै लक्षण नदेखिएको सभासदस्यहरुको गुनासो रहेको छ।
प्रदेश सभासदस्यहरुले विराटनगरमा पद तथा गोपनियताको सपथ लिएको साता दिन हुन लाग्दा समेत बैठकबारे आफूहरु जानकारी विहीन रहेका छौ, नेपाली कांग्रेस मोरङका प्रदेश सभा सदस्य केदार कार्कीले बताए।
उनले भने, ‘बैठक आव्हान किन ढिलाइ भइरहेको अनभिज्ञ छौ। ‘प्रदेश प्रमुखसँग कुनै संवाद हुन सकेको छैन, पहिलो बैठकको मिति तोक्न पाए प्रक्रिया अघि बढ्थ्यो तर, खै किन ढिलाई भइरहेको छ जानकारी भएन’
यसैबीच प्रदेशसभाको पहिलो बैठक माघको चौथो साता बोलाउने बताइएकोछ। प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान भएपनि यसमा ढिलाई भएको प्रदेश प्रमुख प्रा.डा गोविन्द सुब्बा निकट तुलसी गौतमले बताए।
प्रदेश सभासदस्यको सपथ कार्यक्रम सम्पन्न गरि सोही दिन नै काठमाडौं उडेका प्रदेश प्रमुख प्रक्रियागत कार्यमा व्यस्त रहेको गौतमले जानकारी दिए। उनले भने, ‘बुधबारसम्ममा प्रमुख विराटनगर फर्कने कार्यक्रम रहेको छ। त्यसपछि २२ गतेदेखि २४ गतेभित्र पहिलो बैठक आव्हन गर्न सकिने छलफल भइरहेकोछ।’
प्रदेशका कार्य प्रशिक्षणका लागि संसद सचिवालयको टोली पनि विराटनगर आउने कार्यक्रमसंगै प्रदेश प्रमुख पनि विराटनगर आउने भएका हुन्। हाल काठमाडौंमा रहेका प्रमुख प्रा.डा सुब्बा आन्तरिक तयारीमा जुटिरहेको बताइएकोछ।
पाँचवटा प्रदेशको पहिलो बैठक डाकिसकेको अवस्थामा किन एक नम्बरमा ढिलाई भइरहेको बारे गौतमले भने, ‘ एकरुपता तथा प्रक्रियाबारे सबै कुरा सहज बनाएर बैठक बोलाउने तयारी भइरहेको छ।’
अर्कोतर्फ संघीय समाजवादी फोरम नेपाल मोरङका प्रदेश सभासदस्य जयराम यादवले भने बैठक बोलाउने अन्योलता कायमै रहेको बताए। उनले भने, ‘ सबै प्रदेशमा बै७क बसिकस्यो तर हाम्रोमा किन ढिलाई भइरहेको छ। यसबारेमा सबै जना अन्योलमा छौ।’
गत माघ ७ गते आइतबार प्रदेश प्रमुख प्रा.डा सुब्बाले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए भने सोही साँझ उनी काठमाडौं फर्किएका थिए।