धनगढी- खरानी रंगको दौरा सुरुवालमा कालो रंगको ज्याकेट, त्यसमाथि कालै झोला भिडेर थोत्रो साइकल चलाउँदै हरेक दिन धनगढी बजारमा डुलिरहेका देखिन्छन् साहित्यकार यज्ञराज यात्री।
६५ वर्षको जीवनको उत्तराद्र्धको समय, तर उनी साहित्य साधना गरेर अझै थाकेका छैनन्।
धनगढीमा उनलाई बोलाइएका सबै साहित्यिक कार्यक्रममा उपस्थित हुन्छन् र सुनाउँछन् आफ्ना गहकिला कविताहरु। उनको कविता सुनेर हलमा तालीको गड्गडाहट मच्चिन्छ, यति भएपछि यात्रीलाई अरु के चाहियो? उनको मन प्रफुल्ल हुन्छ।
झनै आयोजकले खादा ओढाएर सम्मानपत्र हस्तान्तरण गर्दा यात्रीको खुसीको सीमा नै रहन्न। सम्मानित हुँदाका बखत जीवनमा सबैभन्दा बढी खुसी हुने यात्री उक्त खुसी आफ्नो श्रीमती र छोराछोरीसँग भने बाँड्न सक्दैनन्।
सामाजिक संघ संस्थाहरुबाट पचास भन्दा बढी सम्मानपत्र पाइसकेका यात्री घर जाँदा आफूलाई ओढाईएको खादा र सम्मानपत्र भने लुकाएर मात्रै भित्र पस्छन्।
मानिसहरु यसरी पाउने सम्मानपत्र कोठाको भित्तामा झुण्डाउँछन् तर यात्रीले पोको पारेर बाकसमा लुकाएर राखेका छन्।
तिमी आगो म पानी भयौ कस्तरी
आगो पानी एउटै दिलमा रह्यौ कस्तरी
भयौ होला तिम्लाई पनि मेरो जस्तै पिडा
भित्रभित्रै मुटु पोल्दा सह्यौ कस्तरी
भाविनीको लेखा हो वा षडयन्त्र हो कोईको
नरक भोग्न मण्डपमा गयौ कस्तरी
तिमी भन्छौ माछा मारौँ म तरुल खन्ने
नबुझेर माछा मार्न कह्यौ कस्तरी
(यात्रीले रिसाइरहेने आफ्नी श्रीमतीका लागि लेखेको गजल)
‘घर परिवारले साहित्यलाई बुझ्न सक्दैनन्, सम्मानित भएर घर जाँदा श्रीमतीले त्यही सम्मानले खान लाउन पुगिहाल्छ अरु के चाहियो र भन्दै झटारो हान्दा मुटु बेस्सरी दुख्छ, त्यसैले खादा र सम्मानपत्र लुकाएर मात्रै घर जाने गरेको छु,’ यात्री बहकिँदै भन्छन्– साहित्य साधना भनेको फलामको चिउरा चपाएजस्तै रहेछ सबै मानिसले यसलाई बुझ्न सक्दैनन्।’
श्रीमतीसहित छोराछोरी आफूसँग रिसाउनुको कारण पनि यात्रीलाई राम्रोसँग थाहा छ।
‘साहित्य साधनाका लागि मैले खाईपाई आएको सरकारी जागीर छोडेदेखि परिवार खुसी छैन तर साहित्यमा लागेको म आफू भने खुसी छु,’ उनी भन्छन्।

यज्ञराज जोशी। तस्बिर: दीपक जोशी
यात्रीले किन छोडे सरकारी जागिर?
धनगढीको त्रिनगर माध्यामिक विद्यालयमा शिक्षण पेशामा कार्यरत यात्रीको मनमा एक दिन नेपाल दर्शन गर्ने र सबै ठाउँका बारेमा साहित्य लेखनी गर्ने जोश चल्यो।
२०४१ सालमा तत्कालीन जिल्ला शिक्षा अधिकारीसँग एक बर्षको बेतलवी विदा स्वीकृत गराएर उनी नेपाल दर्शनमा निस्किए तर विदा लिएको एक वर्षमा उनको देशदर्शन यात्रा टुंगिएन।
उनले बिदा थपिदिन शिक्षा कार्यालयलाई गरेको आग्रह पनि स्वीकृत भएन।
‘तत्कालीन शिक्षा अधिकारीले या त पढाउने काम गर्नुस् या त घुम्ने काम मात्रै भन्नुभयो, त्यसपछि मैले सरकारी जागिर छोडेर भएपनि आफ्नो अभियान अगाडि बढाएँ,’ यात्रीले भने।
सरकारी शिक्षकको जागिर छोडेर निरन्तर साहित्य साधनामा लागेकै कारण परिवारको खप्की खानुपरेको उनको भनाइ छ।
परिवारमा झमेला भइरहे पनि सरकारी जागिर छोडेर आफूलाई भने कुनै पछुतो नलागेको उनी बताउँछन्।
‘साहित्यको सागरमा तैरिरहन पाउँदा अत्यन्तै खुसी लाग्छ, परिवारका सदस्यको रहर पूरा गर्न नसकेपनि आवश्यकता पूरा गरेको छु,’ उनी भन्छन्।
तर पछिल्लो समय साहित्यमा पनि राजनीति घुसेपछि भने यात्री खिन्न हुँदै भन्छन्, ‘धन हुनेहरुको साहित्य बजारमा बिक्छ तर धन नहुनेको साहित्य स्तरीय भएपनि कसैले वास्ता गर्दैनन, यो कुराले मन पोलिरहन्छ।’
हामी ठालु भनाउँदाहरु सधैँ मात्रै अगाडि बढौँ
सोझालाई निमोठी मारी यिनका कन्धामा गई चढौँ
हाम्रा शिष महलहरु दिनानु दिननै आकाश छुने होउन्
ती हाम्रा हलिया र चाकर बनून मालिक कहिल्यै नहुन्।
(यात्रीको कविताको एक अंश)
यात्री साहित्य क्षेत्रलाई आफ्नो जीवन र परिवारको भन्दा पनि बढी माया गर्ने गरेको बताउँछन्।
‘एक दिन म गम्भीर बिरामी भई अस्पताल भर्ना भएँ, अस्पतालको शैयामा रहेका बेला पनि आफूले लेखेका (प्रकाशित हुन बाँकी) किताबहरु प्रकाशन नहुँदै मरिने पो हो कि भन्ने डर लागेर आयो, बिरामीबाट उठेलगत्तै ती किताबहरु प्रकाशनका लागि लागिरहेको छु, म मेरो श्रीमती छोराछोरी र परिवार भन्दा बढी माया साहित्यलाई गर्छु र अन्तिम सास रहुन्जेल गरिरहनेछु,’ यात्रीले भने।
२०१० सालमा डोटीको गड्सेरामा जन्मिएका साहित्यकार यज्ञराज यात्रीका ३२ वटा कृति प्रकाशित छन भने १२ ओटा प्रकाशोन्मुख छन्।
धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका संस्थापक अध्यक्ष रहेका यात्री यहाँका दर्जनौँ संघसंस्थामा पनि आवद्ध छन्।

भर्खरै
लोकप्रिय






































































































































































































