
विराटनगर- कांग्रेस नेतृ नोना कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा सुन्दरहरैंचा मोरङमा आइतबार निःशुल्क स्वास्थ्य कार्यक्रमको आयोजना गरिएको छ। मोरङ क्षेत्र नम्बर ६स्थित सुन्दरहरैंचामा डा. शेखर कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठान अन्तर्गत स्वास्थ्य कार्यक्रमको आयोजना गरेका थिए। कोइराला पुनः एकपटक जनतामाझ स्टेथेस्कोप लिएर समाजिक कार्यमा अघि सरे।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित नेता कोइराला विभिन्न कार्यक्रमका साथ यतिबेला जनताको घरदैलोमा आफूलाई सार्दै आएका छन्। यसलाई स्थानीयले समेत उत्साहको रुपमा लिएको बताएका छन्।
कार्यक्रममा डा. कोइरालाले प्रतिष्ठानले बाढी पीडित र भूकम्पको वेला करोडौँ रुपैंया बराबरको राहत उपलब्ध गराइसकेको बताए। उनले भने, ‘तराईमा गएको भीषण बाढीका क्रममा यसरी नै जनताको स्वास्थ्य जाँचेको थिए, आज नेतृ नोना कोइरालाको सम्झनामा पनि। जनताको पीरमर्का बुझ्न सधैँ तयार रहेको छु।’
स्वास्थ्य जाँचका क्रममा उनले विरामीको निःशुल्क औषधि समेत वितरण गरेका थिए। प्रतिष्ठानले हालसम्म विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर २० हजार भन्दा बढी विरामीलाई लाभ पुर्याएको छ।
शिविरमा नाक, कान, घाँटी, स्त्रीरोगका करिव ९ सय बिरामीले जाँच गरेका थिए। शिविरका क्रममा बिरामीको रगत जाँच र ईसीजीसमेत ब्यवस्था गरिएको थियो।