काठमाडौं –आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानुन ल्याउन लागेको बताएका छन्।
सञ्चार केन्द्र नेपालले आइतबार काठमाडौंमा गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तरक्रियामा उनले कडा कानुनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानुनको मस्यौदा तयार गरिरहेको बताए ।
देशमा लामो समयदेखि कानुनी राज्यको अवधारणा स्थापित हुन नसकेको भन्दै उनले उपभोक्ताका अधिकार स्थापित गराउन सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको जानकारी दिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले घटनास्थलमै दोषीमाथि कारबाही गर्ने कानुन नहुँदा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा कठिनाई भएको बताए ।
उनले मूल्यवृद्धि सन्तुलन मिलाउन र उपभोक्ताको हक अधिकारलाई स्थापित गराउन सम्पूर्ण सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले बजारमा देखिएका बेथितिलाई कारबाही गर्न नसक्दा मूल्यवृद्धि र कालोबजारी नियन्त्रण हुन नसकेको बताए । उनले खाद्य पदार्थमा नियन्त्रण गर्न नसक्दा उपभोक्ताले गुणस्तरहीन खाद्य पदार्थ उपभोग गरिरहेको बताए । रासस